१६ कार्तिक, काठमाडाैँ । राष्ट्रिय युवा परिषद्ले ‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ सञ्चालन गर्न इच्छुक प्राविधिक विद्यालयहरूलाई प्रस्ताव पेश गर्ने म्याद थप गरेको छ ।
परिषद्ले सोमबार एक सुचना प्रकाशन गर्दै उक्त प्रस्ताव पेश गर्ने समय कार्तिक महिनाभरी थप गरिएको जानकारी दिएको छ । सुचनामा उल्लेख भए अनुसार यसभन्दा अघिको समयमा पर्याप्त प्रस्ताव पेश नभएको भन्दै कार्तिक ३० गतेसम्मका लागि म्याद थपिएको हो ।
उक्त कार्यक्रमका लागि प्राविधिक तथा व्यवसायिक विषय लागु भएको वा नमुना विकासका लागि छनोट भएका विद्यालयहरूले प्रस्ताव पेश गर्न पाउनेछन् । पेश भएका प्रस्तावहरूमध्येबाट प्रत्येक प्रदेशमा १-१ र संघमा १ गरी जम्मा ८ वटा विद्यालयहरू छनोट गरि बिउ पुँजीको रूपमा अनुदान दिइनेछ ।
उक्त कार्यक्रमका लागि प्रस्ताव पेश गर्न निम्न कागजपत्र तथा सिफारिस अावश्यक पर्ने सुचनामा उल्लेख छ ।
१. उद्यम सञ्चालन सम्बन्धमा स्थानीय तहको सिफारिस
२. विद्यालय व्यवस्थापन समितिको प्रतिबद्धता
३. उद्यमी विद्यार्थी क्बल गठन भएको निर्णयको प्रतिलिपि र उद्यम कोष स्थापना भएको प्रमाणपत्र
४. पूर्व विद्यार्थी मञ्च गठन भएको निर्णयको प्रतिलिपि र पदाधिकारीहरूको विवरण
५. पछिल्लो तीन शैक्षिक सत्रको शैक्षिक उपलब्धीको विवरण
६. पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि