रूकुमका विद्यार्थीलाई लोकतन्त्र र निर्वाचनका कुरा सिकाइँदै
शिक्षाखबर डेस्क
६ पुष २०७८, मंगलवार
no immg

६ पुस, रूकुम । रुकुम (पूर्व)मा विद्यार्थीलाई लोकतन्त्र र निर्वाचनका कुरा सिकाउन थालिएको छ । जिल्लास्थित विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई लोकतन्त्र र निर्र्वाचनका विषय सिकाउन थालिएको हो । जिल्ला निर्वाचन कार्यालयले विद्यालयस्तरमा निर्वाचन शिक्षा कार्यक्रममार्फत विद्यार्थीलाई लोकतन्त्र र निर्वाचन प्रक्रियाबारे जानकारी गराउँदै हिडेको छ ।

जिल्लास्थित विभिन्न विद्यालयमा गएर कक्षा ९ र १० का विद्यार्थीलाई लोकतन्त्र र निर्वाचन प्रक्रियासँगै यसमा विद्यार्थीको भूमीका के हुन सक्छ भन्ने कुराको जानकारी गराउने उद्देश्यले विद्यालयस्तरमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिए । प्रत्येक वर्ष यो कार्यक्रम सञ्चालन भइरहेको हुन्छ । प्रत्येक वर्ष फरकफरक विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

“गएको वर्षमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरेको विद्यालयमा यस वर्ष कार्यक्रम गर्दैनौँ”, निर्वाचन अधिकारी ओलीले भने, “यस वर्ष कार्यक्रम सञ्चालनको लागि नयाँ छ वटा विद्यालय छनोटमा परेका छन् ।” जसमा हालसम्म तीन विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिसकेको उनको भनाइ छ । निर्वाच्न अधिकारी ओलीका अनुसार अहिलेसम्म भूमे गाउँपालिका–६ मा रहेको जनजागृती मावि महत, पुथाउत्तरगङ्गा गाउँपालिकाको महेन्द्र मावि तकसेरा र भूमे गाउँपालिकाको जनशक्ति मावि काडाँमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

यस्तै पुथाउत्तरगङ्गा गाउँपालिकाको जनसहयोग मावि राबाङचौर, सिस्ने गाउँपालिकाको मावि नायगाड र मावि लम्पाकोटमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न बाँकी रहेको छ । यी बाँकी रहेका विद्यालयमा पनि छिटै नै कार्यक्रम सञ्चालन गरिने निर्वाचन अधिकारी ओलीको भनाइ छ ।

प्रतिक्रिया