८ पुस, काठमाडाैँ । नेकपा एमालेका नेता प्रभु साहले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापन संशोधन गर्न माग गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै नेता साहले प्रदेश २ को जनसंख्यालाई नजरअन्दाज गर्दै विज्ञापन प्रकाशन गरिएको भन्दै सोको संशोधन गर्न माग गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा प्रदेश नं. २ आज पनि साक्षरता, प्रतिव्यक्ति आय, औषत आयु र मृत्युदर लगायत समग्र मानव विकास सूचकांकको हिसाबले समेत सबैभन्दा पछाडि भएकाले रोजगारीमा प्राथमिकता राख्नुपर्ने उल्लेख गरेका छन् ।
‘प्रदेश नं. २ आज पनि साक्षरता, प्रतिव्यक्ति आय, औषत आयु र मृत्युदर लगायत समग्र मानव विकास सूचकांकको हिसाबले समेत सबैभन्दा पछाडि छ। प्रदेश २ मा रहेको धेरै जनसंख्या, उच्च जनघनत्व र बढ्दो विद्यार्थी चापलाई समेत नजरअन्दाज गर्दै शिक्षक सेवा आयोगले निकालेको विज्ञापनमा सबैभन्दा कम सिट/पद संख्या प्रदेश नं. २ लाई उपलब्ध गराईएको यस बदनियतपूर्ण कार्यलाई कुनैपनि हिसाबले सामान्य/स्वभाविक मान्न सकिदैन ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तसर्थ, शिक्षक सेवा आयोगको यस अस्वभाविक, अदुरदर्शि, अवैज्ञानिक एवं पक्षपातपूर्ण गलत विज्ञापनलाई तुरन्त संसोधन/खारेज गर्न सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण सहित जोडदार माग गर्दछु ।’
आयोगले बुधबार निम्न माध्यमिक तहमा २ हजार ५९८ जना शिक्षकको लागि दरबन्दी खुला गरेको छ ।