संयुक्त विद्यार्थी संगठनले शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने
शिक्षाखबर डेस्क
२७ पुष २०७८, मंगलवार
no immg

२७ पुस, काठमाडाैँ । संयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधानका लागि विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने भएको छ । संयुक्त विद्यार्थी सङ्गठनको सोमबार राजधानीमा बसेको बैठकले सरकारले लागू गरेको मापदण्ड विपरीत शैक्षिक संस्था चल्दै गएको र शैक्षिक संस्थामा समस्या देखिएको भन्दै समस्या समाधानका लागि सम्बन्धित विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

संयुक्त विद्यार्थी सङ्गठनले चर्को शुल्क लिने मेडिकल कलेजविरुद्ध विद्यार्थीले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । बैठकले काठमाडौँ विश्वविद्यालयअन्तर्गत नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजमा विद्यार्थीमाथि भएको दमनको भत्र्सनासमेत गरेको छ । उक्त दमनबारे गृहमन्त्री र शिक्षामन्त्रीको ध्यानाकर्षणसमेत गराउने भएको छ । लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका चाँडो तोक्नसमेत बैठकले माग गरेको छ । यस्तै कोभिड–१९ को तेस्रो भेरियन्ट र शैक्षिक क्षेत्रमाथि पर्नजाने सम्भावित जोखिमका बारेमा समेत बैठकमा छलफल भएको नेविसङ्घका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु, जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, अखिल छैँटौँलगायत विद्यार्थी सङ्गठनका नेताहरुको उपस्थिति रहेको थियो । बैठकमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको भन्दै नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानालाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।

प्रतिक्रिया