१२ माघ, काठमाडाैँ । नेपालको जनसंख्या सार्वजनिक भएको छ । बुधबार तथ्यांक विभागले यस वर्ष सम्पन्न जनगणना अनुसार नेपालको प्रारम्भिक जनसंख्या सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । २०६८ सालको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो ।
पछिल्लो १० वर्षमा नेपालको जनसंख्या करीब २७ लाखले बढेको देखिएको छ ।
नेपालको कुल जनसंख्याको २१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा बसोबास गर्ने गरेका छन् । यसपछि बागमती प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको यो वर्षको जनगणनाले देखाएको छ । मधेश प्रदेशमा ६१ लाखभन्दा बढी, बागमतीमा ६० लाख जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ ।
त्यस्तै, देशभर पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहँदा महिलाको संख्या भने १ करोड ४९ लाख १ हजार १६९ रहेको छ ।