२० माघ, झापा । बेलायतको फोक्सटन नगरपालिकाका पूर्वकाउन्सिलर धनकिरण गुरुङले मेचीनगर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिने घोषणा गरेका छन् ।
मेचीनगरको वडा नं १० काँकडभिट्टा निवासी उहाँ ब्रिटीश गोर्खा सेनाबाट निवृत्त भई हाल बेलायतमा बसोबास गर्छन् । उनि बेलायतमा रहेर गठन गरेको गोर्खा मेमोरियल फन्डको अध्यक्ष हुन् । बेलायतमा नगरको पूर्वकाउन्सिल पदमा निर्वाचित हुने उनि पहिलो नेपाली हो ।
हाल नेपाल भ्रमणमा आएका उनले काँकडभिट्टामा गोर्खा मेमोरियल फाउन्डेसन नेपालले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मेचीनगरका सरकारी विद्यालयमा कम्प्युटर शिक्षालाई सहज बनाउन कम्प्युटर ल्याब स्थापनामा सहयोग गर्ने घोषणा गरेका हुन् ।
सन् २०२४ देखि मेचीनगरका विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिने परियोजना सुरु हुने र यसका लागि तयारी भइरहेको उनले जानकारी दिए । मेचीनगर र बेलायतको फोक्सटन सिटीबीच उनकै पहलमा भगिनी सम्बन्ध स्थापना भइसकेको छ ।
चार वर्षअघि उनकै पहलमा फन्डले काँकडभिट्टा उच्च माध्यमिक विद्यालयलाई रु २७ लाखको लागतमा ३१ आधुनिक कम्प्युटर र सीसीटीभी सहयोग गरेर कम्प्युटर ल्याब स्थापना गरिएको थियो ।