एसइई परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गर्दै परीक्षा बोर्ड
शिक्षाखबर डेस्क
२७ माघ २०७८, बिहीबार
no immg

२७ माघ, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको परीक्षा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिरहेको जानकारी दिएको छ ।

बिहीबार शिक्षा पत्रकार नेपाल (इजोन) ले काठमाडौंमा आयोजना गरेको परीक्षासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष महाश्रम शर्माले एसइईको परीक्षा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिरहेको बताएका हुन् ।

उनले सरकारले प्रदेशलाई अधिकार दिने कानुन पारित गरे प्रदेश सरकारले नै एसइईको परीक्षा लिने बताएका छन् । कार्यक्रममा बोल्दै उनले भने, ‘एसईईकाे सन्दर्भमा स्थानीय तहबाट दिने भन्ने कुराहरू विगतमा पनि आएका थिए, त्यो भनेको कक्षा १० को परीक्षा प्रादेशिक स्तरबाट लिने भन्ने हो । हामीले कसरी कक्षा १० को परीक्षा प्रादेशिक स्तरबाट सञ्चालन गर्न सकिन्छ, प्रदेशले जिम्मेवारी लिन सक्छ भन्ने लाइनमा गृहकार्य गर्नलाई नीतिगत रूपमा र नियममा के परिवर्तन गर्न सकिन्छ भन्ने हिसाबबाट त्यो प्रक्रियालाई अघि बढाएका छौँ । प्रदेशले पनि राष्ट्रिय परीक्षा बोर्डको निर्देशनअनुसार काम गर्न तयार रहेको कुरा गरेको छ । प्रदेश सरकारले परीक्षा सञ्चालन भइसकेपछि उत्तरपुस्तिका जिल्लामा पठाउने, केन्द्रका कुरालाई समन्वय गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, परीक्षणपछि टेबुलेशन गर्ने, परीक्षण गराउने र नतिजा प्रकाशन गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डमा पठाउने काम गर्नेछ ।’

अध्यक्ष शर्माका अनुसार यस पटकको एसइई परीक्षामा २ हजार वटा केन्द्र रहने र ११ हजार बढी विद्यालयले भाग लिनेछन् । बोर्डले करीब ५ लाख परीक्षार्थी परीक्षामा उपस्थित हुनसक्ने अनुमान पनि गरेको छ ।

प्रतिक्रिया