२९ माघ, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको बताएका छन्। मन्त्री भएको एक सय दिन पुगेको अवसरमा शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले खोप हराएको नभइ तथ्याङ्क नआएको उल्लेख गरे।
‘खोपको २४ लाख मात्रा हराएको होइन, हामीले खोप लगाउनका लागि प्रदेश, जिल्ला, स्थानीय तह हुँदै टोलटोलमा स्वास्थ्यकर्मी खटाएका थियौँ’, मन्त्री खतिवडाले भने, ‘टोलटोलमा गएर लगाएको तथ्याङ्क नआएको मात्र हो।’ उनले खोप लगाउँदा केही मात्रा खेर गएकाले पनि तथ्याङ्क नमिलेको बताए।
‘एउटा डब्बामा रहेको खोपको १० मध्ये आठ मात्रा लगाइयो र बाँकी दुई मात्रा खोप त्यही दिन लगाइन भने त्यो खेर जान्छ,’ उनले भने, ‘त्यसरी पनि खोपको मात्रा खेर गइरहेको छ।’ हराएको खोपको सम्बन्धमा मन्त्रालयले प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको र चाँडै नै हराएको खोपका बारेमा जानकारी दिने मन्त्री खतिवडाको भनाइ थियो ।
मन्त्री खतिवडाले आगामी वैशाख मसान्तसम्म लक्षित जनसङ्ख्या सबैलाई कोभिड –१९ विरुद्धको खोपको पूर्ण मात्रा प्रदान गर्ने लक्ष निर्धारण गरिएको र त्यसका लागि आवश्यक पर्ने खोपको मौज्दात सुनिश्चित गरिसकिएको बताए। उनले १२ वर्षदेखि माथिका सबैलाई खोप लगाइने जानकारी दिए।