४ फागुन, म्याग्दी । उमेरले नेटो काटिसकेका र औपचारिक शिक्षा हासिल गर्नबाट वञ्चित भएका आमाले अध्ययन गर्ने म्याग्दीको एक विद्यालयलाई म्याग्दी जेसिजले रु एक लाख आर्थिक सहयोग गरेको छ ।
महिलामात्र अध्ययनरत उज्यालो वैकल्पिक विद्यालयलाई म्याग्दी जेसीजले आर्थिक सहयोग गरेको हो । विद्यालय जाने उमेरमा अध्ययन गर्ने चाहना हुँदाहुँदै पनि विविध कारणले विद्यालय नगई घरमा बसेकालाई लक्षित गरी स्थापना भएको विद्यालय सञ्चालनमा आर्थिक समस्या उत्पन्न भएपछि रु एक लाख आर्थिक सहयोग गरेको म्याग्दी जेसीजले जनाएको छ ।
म्याग्दी जेसीज २०२२ का शाखा अध्यक्ष सन्दीप खत्रीसहितको टोलीले विद्यालयका कार्यवाहक अध्यक्ष राजेश शाक्यलाई आज उक्त रकम हस्तान्तरण गरेको हो । हाल कक्षा १० सम्म अध्ययन हुने उक्त विद्यालयबाट २०७७ को एसइईमा सात जना आमाहरुले उत्तीर्णसमेत गरेका छन् । हाल उक्त विद्यालयमा आर्थिक सङ्कट आई सञ्चालनमा कठिनाइ भएपछि आर्थिक सहयोग गरिएको म्याग्दी जेसीजका अध्यक्ष खत्रीले बताए ।
“आमाहरुले पढ्ने विद्यालयलाई नमूना बनाउन हामीले सानो सहयोग गरेका छौँ, भविष्यमा पनि निरन्तर साथ र सहयोग हुन्छ”, शाखा अध्यक्ष खत्रीले भने । कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष सिनेटर रमेशकुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्वराष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जयकुमार श्रेष्ठ, पूर्वअध्यक्षहरु, सञ्चालक समितिका सदस्यको सहभागिता रहेको थियो ।
आर्थिक सहयोग प्रदान गरेकोमा कावा अध्यक्ष शाक्यले म्याग्दी जेसीजलाई धन्यवाद दिए । कावा अध्यक्ष शाक्यले जनचेतनाको अभाव र छोरीलाई शिक्षा दिनबाट वञ्चित बनाउनेलगायतका कारणले अक्षरसमेत चिन्न नसक्ने अवस्थाका आमाहरुलाई लक्षित गरेर सञ्चालन गरिएको विद्यालयमा आर्थिक समस्या भएको बताए ।
“अहिले अभावै अभाव छ, आर्थिक अभावले थप योजना अगाडि बढाउन समस्या भइरहेको छ”, अध्यक्ष शाक्यले भने । उनले पर्याप्त स्रोतसाधन भएमा विद्यालयमा पठनपाठनसमेत सहज हुने तथा सङ्ख्या बढाउन सकिने बताए । १९औँ जेसीज कप सञ्चालनमार्फत सङ्कलन भएको रु २५ हजार, राजेश शाक्यको व्यक्तिगत सहयोग रु ५० हजार र २०२२ को सञ्चालक समितिका सदस्यबाट रु २५ हजार आर्थिक सङ्कलन गरी सहयोग गरिएको जनाइएको छ ।