१२ चैत, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ सुँगाटोलस्थित बालप्रेमी माध्यमिक विद्यालयको नवनिर्मित भवन विद्यालयलाई शुक्रबार हस्तान्तरण गरिएको छ । विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा दुई नयाँ भवनको नेकपा (एमाले)का पोलिट ब्यूूरो सदस्य महेश बस्नेतले उद्घाटन गरे ।
विसं २००७ मा स्थापना भएको यो विद्यालयले जिल्लाकै गौरबको रूपमा रहेको चर्चा गर्दै उनले नयाँ भवनमा अब विद्यार्थी ल्याउने चुनौति थपिएको बताए । सांसद बस्नेतले भने, “सामुदायिक विद्यालयमा किन स्थानीय विद्यार्थी आउँदैनन्, आए पनि किन पुरुष विद्यार्थी आउँदैनन्, छोरी मात्रै आउँछन्, यो विषयलाई गम्भीर ढङ्गले छलफल गर्दै स्थानीय सरकारले विद्यार्थी बढाउन पहलकदमी लिनैपर्छ ।
मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले नगरपालिकाकै पुरानो विद्यालयले नयाँ जीवन पाएको चर्चा गरे । कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापनका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले नेपाल सरकार र एशियाली विकास बैंकको आर्थिक सहयोगमा नेपाल सरकार शिक्षा मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइको विपद् उत्थानशील विद्यालय परियोजनाअन्तर्गत रु पाँच करोड ४७ लाखको लागतमा आठ कोठे र नौ कोठे दुई वटा सुविधा सम्पन्न नयाँ भवन बनेको जानकारी दिए ।
अपाङ्गमैत्री, सुविधा सम्पन्न भवनमा नयाँ फर्निचर, आइटी ल्याव एवं प्रविधिसम्मको जडान गरी सुविधा सम्पन्न बनाइएको बताउँदै उनले विद्यालयले गुणस्तरीय शिक्षा दिएर विद्यालयलाई उत्कृष्ट बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । विद्यालयकी प्रधानाध्यापक चरणकेशरी श्रेष्ठले पुरानो जीर्ण भवनबाट नयाँ र सुविधा सम्पन्न भवनबाट पढाइ सञ्चालन गर्न पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिए ।