२५ चैत, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसमक्ष बालबालिका र शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूको सञ्जालले विद्यालय शान्ति क्षेत्र ढाँचा तथा कार्यान्वयन निर्देशिका, २०६८ लाई निर्वाचन आचारसंहिता अनुकूल हुने गरी संशोधन गर्न माग गरेको छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप), शिक्षा पत्रकार समाजलगायत संस्थाका प्रतिनिधिले बिहीबार सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमा ज्ञापनपत्र बुझाउँदै विद्यालयहरूमाा दलीय राजनीति अन्त्य गरी हिंसा, भेदभाव र भयरहित वातावरणमा गुणस्तरीय शिक्षा पाउने बालबालिकाको हक स्थापित गर्न आग्रह गरेका हुन् । सोका लागि निर्देशिकालाई सामयिक संशोधन गरी कार्यान्वयन गरिनुपर्ने सिजपका अध्यक्ष राजेश शर्माले आग्रह गरे ।
जवाफमा मन्त्री पौडेलले सो विषयमा सम्बन्धित निकायसँग बुझेर आवश्यक पहल लिने विश्वास दिलाउनुभएको थियो । बिहीबार नै सो सञ्जालले आशन्न स्थानीय तहको निर्वाचनका लागि चुनावी घोषणपत्रमा समावेश हुनुपर्ने बालअधिकार र शिक्षाका सवालबारे नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई भेटेर सुझाव दिएको थियो ।