आजदेखि राष्ट्रिय कृषि गणना सुरु
शिक्षाखबर डेस्क
६ बैशाख २०७९, मंगलवार
no immg

६ वैशाख, काठमाडाैँ । ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ केन्द्रीय तथ्याङ्क विभागले मङ्गलबारदेखि सातौँ राष्ट्रिय कृषि गणना सुरु हुँदै छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म ७७ जिल्लाका तीन लाख घरपरिवारमा सो गणना गरिने विभागले जनाएको छ ।

विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ को जनगणना गर्दा ६८ लाख घरपरिवारसँग खेतीयोग्य जमिन छ कि छैन र पशुपन्छी पालिन्छ कि पालिँदैन भनी दुईवटा प्रश्न सोधिएको थियो । तीमध्ये ४१ लाख घरपरिवारले खेतीयोग्य जग्गाजमिन रहेको र पशुपन्छी पनि पालन गरेको भनी जवाफ दिएका थिए । ती ४१ लाखमध्ये ‘सेम्प्लिङ’ गरी तीन लाख घरपरिवारसँग कृषि गणना गर्न लागिएको उपमहानिर्देशक रेग्मीले बताए ।

कृषि गणनाका लागि पाँच हजार दुई सय गणक र एक हजार तीन हजार सुपरिवेक्षक खटाइएको उनले बताए। उनीहरू आ–आफ्नो कार्यक्षेत्रमा पुगिसकेको उनको भनाई छ । प्रत्येक १०–१० वर्षमा गरिने कृषि गणना यसअघि २०६८ मा गरिएको थियो । सबै जिल्लामा गरिएको कृषि गणना दुई चरणमा भएको थियो । त्यतिबेला ३८ लाख ३१ हजार ९३ कृषक घरपरिवार र ती परिवारसँग २५ लाख २५ हजार ६३९।२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको नतिजा निकालेको थियो ।

२०६८ को कृषि गणनाअनुसार एक लाख १६ हजारसँग आफ्नै जमिन छैन भने ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेकामा ८३ प्रतिशत जनता कृषि पेसामा आत्मनिर्भर रहेको उल्लेख छन् । ४२ प्रतिशत कृषकले कृषि ऋण पाउन सकेका छैनन् ।

वि।सं। २०१८ देखि केन्द्रीय तथ्याङ्क विभागले हरेक प्रत्येक १०÷१० वर्षमा राष्ट्रिय कृषि गणना सञ्चालन गर्दै आइरहेको छ । ७५३ स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कृषक परिवारसँग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने विभागले जनाएको छ । यस गणनाअन्तर्गत पारिवारिक, व्यावसायिक तथा संस्थागत रूपमा सञ्चालन भइरहेका कृषिकार्यको विवरण सङ्कलन गरिनेछन् ।

सातौँ कृषि गणनामा कृषक परिवार, कृषक परिवारले चलन गरेको जग्गाको उपभोग र उपयोग, कित्ताको विवरण, सिँचाइ गरेको जग्गाको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन, कन्दमूल, तेलबाली, नगदेबाली, मसलाबाली, तरकारीबाली र फलफूल लगाएको जग्गाको क्षेत्रफल तथा प्रमुख बालीको उत्पादनका बारेमा तथ्याङ्क सङ्कलन गरिने विभागले जनाएको छ ।

प्रतिक्रिया