त्रिवि सेवा आयोगको परीक्षामा उत्तीर्ण हुनेको संख्या अति न्युन, १४६३ ले परीक्षा दिँदा एक जना पास
शिक्षाखबर डेस्क
१५ असार २०७९, बुधबार
no immg

१५ असार, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षामा सहभागीहरूमध्ये पास हुनेको संख्या अति न्युन रहेको छ।

उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक, लेखा अधिकृत पदमा लिइएको लिखित परीक्षामा सहभागी भएका १४६३ जनामध्ये जम्मा एक जना मात्रै मुख्य कार्यालय सहायक पदमा अन्तर्वार्ताका लागि छनाैट भएका छन्।

उपप्रशासक पदकामा खुलातर्फ २, महिलातर्फ १ र आदिवासी जनजातीतर्फ १ गरी जम्मा ४ जनाका लागि परीक्षा लिएको थियो। त्यसमा १२ जनाले परीक्षा दिँदा कोही पनि लिखित परीक्षामा उत्तिर्ण हुन सकेनन्।

त्यस्तै अवस्था शाखा अधिकृतको पनि रहेको छ। खुलातर्फ २२, महिलातर्फ ६, आदिवासी जनजातितर्फ ५, मधेशीतर्फ ४, दलिततर्फ एक, अपाङ्गतर्फ १ र पिछडिएको क्षेत्रतर्फ १ गरी ४० जनाका विज्ञापन खुलाएर परीक्षा लिइएको थियो। उक्त परीक्षामा ५४२ जना सहभागि हुँदा पास हुनेको संख्या शुन्य नै रह्यो।

त्यस्तै, आर्थिक उपनियन्त्रकको परीक्षामा २ जनाले परीक्षा दिँदा उत्तीर्ण संख्या शुन्य नै रह्यो। लेखा अधिकृतको परीक्षामा सहभागी १२९ जनामध्ये कसैले पनि लिखिप परीक्षा कटाउन सकेनन्।

तर, ४३ जना माग गरिएको मुख्य कार्यालय सहायकका लागि लिइएको परीक्षामा भने जम्मा एक जनामात्रै उत्तीर्ण भए।

त्यस्तै, कार्यालय सहायकका लागि लिइएको परीक्षामा मात्रै माग संख्याभन्दा बढी व्यक्ति पास भएका छन्। ५१ जना माग गरिएकोमा ६७२ जनाले लिखित परीक्षा दिँदा ८७ जना अन्तर्वार्ताका लागि छनाैट भएका छन्।

प्रतिक्रिया