१८ साउन, एजेन्सी। अष्ट्रेलियामा ६ महिनाका शिशुहरूले पनि कोरोना भाइरस विरूद्धको खोप लगाउन पाउने भएका छन्। अष्ट्रेलियामा जटिल अवस्थामा भएका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूले अर्को महिनादेखि खोप लगाउन पाउने भएका हुन्।
अष्ट्रेलियन टेक्निकल एड्भाइजरी ग्रुपले मोडेर्नाको खोप उक्त उमेर समूहमा प्रयोग गर्न सिफारिस दिएको हो। अष्ट्रेलियामा उक्त उमेर समूहका करीब ७० हजार बालकालिका संक्रमणको उच्च जोखिममा रहेको बताइएको छ।
सेप्टेम्बर ५ तारिखदेखि उक्त उमेर समुहका बालबालिकालाई भ्याक्सिन लगाउन सिफारिस गरिएको छ।
अहिलेको चरणमा गम्भीर रूपमा इम्युनोकम्प्रोमाइज भएका, असक्षमता भएका र कोरोना संक्रमणका कारण जटिल स्वास्थ्य अवस्था भएका बालबालिकाहरूका लागि मात्र सिफारिस गरिएको छ।
खोप सल्लाहकार निकायले शिशु र बालबालिकाको खोपले सामुदायिक प्रसारणमा कुनै असर गर्छ भन्ने सुझाव दिने पर्याप्त प्रमाण नभएको पनि उल्लेख गरेको छ।
त्यस्तै, खोप लगाउन योग्य बालबालिकाहरूलाई ८ हप्ताको अन्तरमा २ डोज खोप लगाउन सिफारिस गरिएको छ।