डाक्टर केसीद्वारा इलामबाट निःशुल्क स्वास्थ्य सेवा सुरु
शिक्षाखबर डेस्क
२४ श्रावण २०७९, मंगलवार
no immg

२४ साउन, इलाम। डाक्टर गोविन्द केसीले सोमबारदेखि इलामबाट जनतालाई सेवा दिन सुरु गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरु गरेका हुन् । सोमबारदेखि २० दिनसम्म उनले सेवा दिनेछन् ।

डा केसीले पहाडी भेगका जनताको जिल्लामा नै आएर सेवा गर्ने रहर भएर यहाँबाट सेवा सुरु बताए । सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनको भनाइ छ ।

सत्ताइस वर्ष शिक्षण अस्पतालमा काम गरेका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन् । त्यसबाहेक १५ वटा देश पुगेर उनले बिरामीलाई उपचार र औषधि उपलब्ध गराएका छन् । डाक्टर केसीले इलामबाट उपचार दिन थालेपछि इलाममा हाडजोर्नीका बिरामी उपचार गराउन आउनेको सङ्ख्यासमेत वृद्धि भएको छ । गाउँगाउँदेखि पुराना हाडजोर्नीसम्बन्धी बिरामीसमेत डाक्टरलाई देखाउन आउन थालेका छन् ।

डा केसीले दैनिक ५० जनासम्म बिरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरिरहेका छन् । उनले आउने भदौ १० गतेसम्म इलामबाट निःशुल्क सेवा दिने जनाइएको छ । इलाम अस्पतालले उहाँलाई उपचारमा सहयोगका लागि आवश्यक सहयोग गर्ने अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए । उनले आवश्यक सहयोगसहित सुरक्षा गार्डकोसमेत व्यवस्था गरिएको बताइएको छ ।

प्रतिक्रिया