११ भदाै, लमजुङ। गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङमा शुक्रबारदेखि डाइलासिस सेवा सुरु भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा यो सेवा पहिलो पटक सुरु भएको हो ।
जिल्ला अस्पतालले बिहीबार एक सूचना जारी गरी हेमोडाइलासिस सेवाका लागि अस्पतालमा दर्ता गर्न अनुरोध गरेको थियो । शुक्रबार दोर्दी गाउँपालिका–८ की ७० वर्षीय महिला अनारसि गुरुङलाई सेवा दिँदै जिल्लामा डाइलासिस सेवा शुभारम्भ गरिएको जिल्ला अस्पताल लमजुङका प्रमुख प्रशासकीय अधिकृत हेमन्त श्रेष्ठले बताए ।
दुवै मिर्गौला फेल भएर विगत तीन वर्षदेखि दमौली अस्पताल तनहुँमा उपचार गराउँदै आएकी गुरुङ जिल्लामै यो सेवा पाउने पहिलो व्यक्ति भएकी छन् ।
यस अस्पतालका अनिसा थापा, सिर्जना तामाङ, मुना राई र सुनिता थापा र धौलागिरि अस्पताल बागलुङबाट आएका स्टाफ नर्स बेलिसरा भुजेल, सावित्री बस्याललगायतको टोलीले उक्त सेवा दिएको अस्पतालले जनाएको छ ।