तिलाठी कोइलाडीमा सिटामोल र जीवनजल अभाव
शिक्षाखबर डेस्क
२२ भाद्र २०७९, बुधबार
no immg

२२ भदाै, सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सिटामोल, जीवनजलजस्ता अति आवश्यक औषधि अभाव भएको छ । गाउँपालिकाको एउटा प्राथमिक स्वास्थ्य केन्द्र, दुई आधारभूत स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामी मर्कामा परेका छन् ।

स्वास्थ्य चौकीमा सिटामोल र जीवनजल नहुँदा बिरामी औषधिबिना घर फर्किन बाध्य भएको स्थानीय भरत मण्डलले बताए । वडा तहमा सञ्चालित स्वास्थ्य केन्द्रमा दुई महिनादेखि सिटामोल र जीवनजल अभाव भएको उनको भनाइ छ । वडा नम्बर ८ का वडाध्यक्ष सत्यनारायण यादव औषधि अभावको समस्या समाधानका लागि आवाज उठाउँदै आएको तर सुनवाइ नभएको गुनासो गर्छन् ।

गाउँपालिको आठवटै वडास्थित स्वास्थ्य केन्द्रमा दैनिक सयभन्दा बढी रुघाखोकी, ज्वरो र पखालाका बिरामी आउने गरेको स्वास्थ्य शाखाका प्रमुख शैलेश मिश्रले जानकारी दिए । आर्थिक कारोबार गर्ने अख्तियारी नपाएकाले टेण्डर गर्न नसकेर औषधि खरिद गर्न नसकिएको उनले बताए । कूल ३५ हजार जनसङ्ख्या रहेको गाउँपालिकाको वडा नम्बर एकको तिलाठी, दुईको लौनिया, तीनको सकरपुरा, चारको कोइलाडी र वडा नम्बर पाँचको कोबर्साइनमा स्वास्थ्य चौकी छ । वडा नम्बर ६ को कोमधेपुरा र वडा नम्बर ७ को मन्सापुरमा आधारभूत स्वास्थ्य केन्द छ भने वडा नम्बर ८ को तोपामा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ ।

प्रतिक्रिया