२ असोज, बाँके। समयमा खेती लाउन नपाएका बाँकेका किसान यसपाली धान उत्पादन घट्ने चिन्तामा छन् । बीउ, मल अभाव र सिँचाइ समस्याका कारण समयमा रोपाइँ गर्न नकसेकाले उनीहरुलाई उत्पादन घट्ने चिन्ता परेको हो ।
यस वर्ष विगत जस्तो धान उत्पादन नहुने चिन्ता लागेको खजुराका गेहेन्द्र धितालले बताए । यस वर्ष समयमै पानी नपरेका कारण ढिलोगरी धान रोपाइँ भएको थियो । खेतीका बेला मल नपाएउँदा खेती लाउन नपाइएको उनको भनाइ छ ।
बाँकेको नरैनापुर गाउँपालिकामा पानी नपर्दा यस वर्ष १५ प्रतिशत मात्र धान रोपाइँ भएको स्थानीयले बताएका छन् । सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीका भरमा धानखेती गर्दै आएका नरैनापुरका किसानले यो वर्ष रोपाइँ गर्न नपाएको सोहनलाल यादवले बताए ।
पर्याप्त सिँचाइको व्यवस्था नभएकाले किसानले नरैनापुरमा धान रोपाइँ गर्न पाएका छैनन् । वैकल्पिक उपायमार्फत लगाएको धानबालीसमेत नष्ट भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताए । बाँकेमा खडेरीका कारण यो वर्ष धानखेतीयोग्य १० प्रतिशत जमिन बाँझै रहेकाले अघिल्लो वर्षको तुलनमा उत्पादन कम हुने अनुमान गरिएको उनले बताए ।
बाँकेमा अन्य स्थानीय तहमा धेरै समस्या नभए पनि नरैनापुरमा खडेरीका कारण यो वर्ष धानखेती गर्न सकिएको छैन । पानीको अभावमा समस्या भएपछि नरैनापुरलाई गाउँपालिकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । नरैनापुरमा धानखेती हुने क्षेत्रफल करिब चार हजार दुई सय हेक्टर छ । जिल्लाका अन्य क्षेत्रमा ८७ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।