धानबाली जोगाउन रातभरी मचानमा जाग्राम
शिक्षाखबर डेस्क
७ कार्तिक २०७९, सोमबार
no immg

७ कार्तिक, बर्दिया। बर्दियाको मधुवन नगरपालिकाका कृषक आफ्नो धानबाली जोगाउन रातभरी मचानमा जाग्राम बस्ने गरेका छन् ।

गाउँको पूर्वतर्फ ओराही सामुदायिक वनको घना जङ्गल, पश्चिमतर्फ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, उत्तरतर्फ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र दक्षिणतर्फ भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षको बीचमा करिब ८०० बिघा आवादी जग्गा छ । मधुवन नगरपालिका–१,२ र ३ मा रहेको भग्रैया, पथ्थरबोझी, कैलासी, बड्की टडुवा, छोट्की टडुवा, रजवारा र कुसुम्मा गाउँका बासिन्दालाई अहिले धान बाली जोगाउने चिन्ता छ ।

उनीहरु निरन्तर गाउँको खेतमा मचान बनाएर रातभर जाग्राम बस्छन् । करिब ८०० बिघा जग्गामा लागाइएको धान जोगाउन अग्ला रुखमा किसानले काठका मचान बनाएका छन् ।

हरेक वर्ष जङ्गली हात्ती, चित्तल, बँदेल, गैंडा र बादरजस्ता वन्यजन्तुले धान खाई नष्ट गर्ने भएकाले बाली लगाएदेखि नकाटेसम्म मचान बनाएर कुर्ने गरिएको स्थानीय घनश्याम भारतीले बताए । हाम्रो यो वार्षिक तालिका जस्तै छ, रोपाइँ गरेर बाली नकाटेसम्म हामी राति मचानमा जाग्राम बस्छौँ । तीन वटा मचान अग्लो रुखमा र काठबाट बनाइएको छ ।

तीन हप्तायता जङ्गली हात्तीको समूह निकै सक्रिय भई दिउँसो र राति आउने गरेकाले हामीले पनि कुर्ने क्रम बढाएको उनको भनाइ थियो ।

अर्का स्थानीयवासी सुन्दर थारुले हरेक वर्ष वन्यजन्तुले बालीनाली नष्ट गर्दा आफूले आधा बाली मात्र पाउने गरेको उनको गुनासो थियो । “वर्षेनी यो अवस्था हाम्रा लागि नियतिजस्तै बनेको छ । रोपाइँ गरे पछि हामी मचान मर्मत गरी तयार पाछौँ । हाम्रो बास मचान मै हुन्छ, बाली नकाटेसम्म, मचानमै हामीले आवश्यक पर्ने खानेकुरा पानी, टर्चलाइट, राँको, मोबाईलदेखि ओछ्यान र झुलसमेतको ब्यवस्था गरेको हुन्छौँ,” सुन्दरले भने ।

मचानमा एक्लै राति समय बिताउन गाह्रो हुने भएकाले गाउँले साथीभाइ, केटाकेटी, वृद्ध र महिलासमेत मिलेर बस्ने गरेको उनले बताए । एकजना मात्रै जाग्राम बस्न गाह्रो हुने भएकाले तीन जनासम्म पालैपालो जाग्राम बसेर धानबाली कुर्ने गरेका छौँ ।

अर्का स्थानीयवासी धनीराम चौधरीले भने, “हरेक वर्ष जङ्गली हात्तीले हाम्रो बाली खाई नष्ट गरिदिन्छ । जङ्गली हात्ती आएमा विभिन्न सङ्घसंस्थाले हामीलाई साईरन (लाउडिस्पिकर) दिएको छ । त्यस साईरनमार्फत हामी गाउँलेलाई कुन क्षेत्रमा हात्ती आएको छ भनी सतर्क गराइ एक ठाउँमा जम्मा भएर हात्ती धपाउने काम गर्छौँ र पालैपालो रातभर जाग्राम बसी आफ्नो बालीनाली जङ्गली वन्यजन्तुबाट सुरक्षा गदै आएका छौँ । एकदिन मात्रै जङ्गली हात्ती नआए पनि निन्द्रासमेत लाग्दैन, यो हाम्रो नियमित काम जस्तै भएको छ ।”

भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने सानो तर अति सम्वेदनशिल क्षेत्र खाता जैविक मार्ग छेउछाउ बसोवास गर्ने बासिन्दा जङ्गली वन्यजन्तुबाट वर्षौदेखि पीडित हुँदै आएका छन् । यस जैविक मार्ग आसपास क्षेत्रमा करिब छ हजार ५०० घरधुरी छ भने लगभग २५ हजार जनसङ्ख्या छ । पैँसठ्ठी प्रतिशत घरधुरी रैथाने आदिवासी थारु जातीको बाहुल्यता रहेको छ ।

प्रतिक्रिया