धादिङका उत्कृष्ट कृषक सम्मानित
शिक्षाखबर डेस्क
१६ कार्तिक २०७९, बुधबार
no immg

१६ कार्तिक, धादिङ । बयालिसौँ विश्व खाद्य दिवस तथा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङका तीन कृषक पुरस्कृत भएका छन् । उत्कृष्ट छानिएका थाक्रेका रामबहादुर सुवेदी, त्रिपुरासुन्दरीका नविन सिंखडा र भक्तबहादुर बस्नेतलाई कृषि ज्ञान केन्द्र धादिङले नगदसहित सम्मान गरेको हो ।

पुरस्कृत कृषकलाई प्रतिव्यक्ति रु १० हजार र सम्मानपत्र प्रदान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख दिनेश आचार्यले जानकारी दिए । विश्व खाद्य दिवसको अवसरमा आयोजित विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिताका विजेता विद्यार्थीलाई पनि ज्ञान केन्द्रले पुरस्कृत गरेको छ ।

प्रतियोगितामा बेनिघाट रोराङ गाउँपालिकाको मलेखुस्थित बागेश्वरी माविकी छात्रा सदीक्षा आचार्य प्रथम, बेनिघाट रोराङकै चन्द्रोदय माविकी सिर्जना लोहनी द्वितीय, गजुरीको डोलभन्ज्याङ माविकी विनिता घिमिरे तृतीय र नीलकण्ठ नगरपालिकाको धादिङ आवासीय माविकी कृषला श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गर्नुुभयो । चारै जनालाई नगदसहित पुरस्कृत गरिएको हो ।

विद्यार्थीले कृषिमा दिगोपन, अर्गानिक उत्पादनमा जोड, जैविक मल उत्पादनलाई बढावा, वातावरण सन्तुलन, मानव स्वास्थ्यमा सुधार, जैविक मल उत्पादनमा सरकारको लगानीलगायत विषयमा निबन्ध लेखेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्मालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया