प्रमाणपत्रमै सीमित भो तालिम!
शिक्षाखबर डेस्क
१९ कार्तिक २०७९, शनिबार
no immg

१९ कार्तिक, सिन्धुपाल्चोक। तालिम पाएको प्रमाणपत्र हातमा छ । घरमै बसी इलम गरी दुई/चार पैसा कमाउने उत्साह पनि छ । तर प्रमाणपत्र र उत्साह दुवैको उपयोग छैन । पोहोर मङ्सिरमा डल्ले साबुन बनाउने तालिम लिएकी मेलम्ची नगरपालिका–९ कि शर्मिला खड्का अहिले अलमल्ल परेकी छन् ।

घरेलु तथा साना उद्योग कार्यालयले साबुन बनाउने तालिम दिने रे भन्ने सुनेपछि फुरूङ्ग हुँदै भाग लिन पुगेकि थिइन् उनी । घर परिवारको इच्छा नहुँदा नहुँदै तालिममा सहभागी भएकी शर्मिला तालिमपछि दुई/चार पैसा कमाउन समस्या नहुनेमा ढुक्क थिइन् । गत भदौमा साबुन बनाएर मेलम्ची बजार ल्याउँदा बिक्नै सकेन । कारण के होला ? शर्मिला भन्छिन्, “कहिल्यै सुइरो नसमाएको मान्छेलाई एक हप्ते तालिम दिएर व्यवसायी बन भनेपछि यस्तै हुन्छ ।”

चौतारा साँगा चोकगढी नगरपालिका–१४ का चतुरबहादुर तामाङले पनि सिन्के धूप बनाउने तालिम लिएको वर्षाैं भयो । धूपलाई चाहिने सुगन्धित वस्तु (परफ्युम) स्थानीय बजारमा नपाएर धूप बनाउन सकेनन् । तामाङका अनुसार तालिम दिइनुअघि प्रशिक्षार्थीको क्षमता, लगाव तथा कच्चा पदार्थको सुलभ र बजारको अध्ययन नगरिनुले नै तालिमको उपयोगिता नभएको हो । विभिन्न संस्था र सरकारी निकायले दिने सीपमूलक तालिमको उपयोगिता कति छ भन्ने नतिजा शर्मिला र चतुरबहादुरको भोगाइले दिएको छ ।

सीपमूलक तालिम लिने सिन्धुपाल्चोकमा बर्सेनि सयौँको सङ्ख्यामा बढिरहेका छन् । तालिमलाई उपयोग गरी व्यवसायी बनेको भेटाउन हम्मे पर्छ । यता कृषि विकास कार्यालयअन्तर्गत दीर्घकालीन कृषि योजना कार्यान्वयन कागजमै सीमित देखिएको छ ।

बजारीकरण र अनुगमनको पनि फितलो प्रयास भएको बताउनुहुन्छ ज्यामिरेका वासुदेव कटुवाल । कृषि कार्यालय विगतमा झैँ फलफूल खेती, अन्नबाली आदिका लागि केही दिनको तालिम सञ्चालन गरेर कोटा पुर्याउनमै व्यस्त देखिन्छ । तालिममा पनि जो बढी सम्पर्कमा आउँछ उसलाई नै दिने गरिएको पाइएको कटुवाल बताउनुहुन्छ । शिखरपुरका शंकर खनाल आफ्नो समुदाय कृषिको तालिम पाउनबाट वञ्चित सरह नै भएको गुनासो गर्छन् ।

कृषक जेटिए नभेट्दा बालीमा रोग लागेर पहेँलिएर मर्छ । मेलम्चीका वेदलाल दुलाल भन्छन्, “तालिम र बीउ बाँडेपछि योजना सम्पन्न भएको देखाउन मै उनीहरू तल्लीन छन् ।

प्रतिक्रिया