२१ कार्तिक, महोत्तरी। महोत्तरीको बर्दिबास नगर क्षेत्रका प्राविधिक शिक्षालयमा पठनपाठन गर्ने छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरिएको छ । गरिब तथा मेधावी छात्रछात्रालाई प्राविधिक शिक्षाको डिप्लोमा (स्नातक) तहको अध्ययनका लागि पद्मशम्शेर स्मृति प्रतिष्ठान बर्दिबासले शनिबार एक समारोहबीच पूर्ण छात्रवृत्तिको रकम प्रदान गरेको हो ।
प्रतिष्ठानले बर्दिबास–१ महोत्तरीले नगर क्षेत्रका विभिन्न शिक्षालयमा अध्ययन गर्न छ जना गरिब तथा मेधावी छात्रछात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गरेपछि अब अर्थाभावले आफ्नो अध्ययन नरोकिने छात्रछात्राको भनाइ छ ।
“मेरो अब अघिल्लो शिक्षाका लागि पढ्ने सावगास थिएन”, बर्दिबास–१० खयरमाराकी जसोधाकुमारी मण्डलले भनिन्, “मेरो लागि छात्रवृत्ति अब वरदान भएको छ, म मेहेनतसाथ पढेर राम्रो होटल व्यवस्थापनविज्ञ बन्नेछु ।”
प्रतिष्ठानले शैक्षिक सत्र २०७७ देखि बर्दिबास नगरक्षेत्रका बासिन्दा रही यसै नगरक्षेत्रका प्राविधिक धारका विद्यालयमा पठनपाठन गर्न बर्र्सेेनि १५ जना छात्रछात्रालाई छात्रवृत्ति दिने घोषणा गरे पनि मापदण्डअनुसारका सङ्ख्या अपुग हुँदै आएको छ । प्रतिष्ठानबाट पहिलो वर्ष (२०७७) मा ११ जना र गत वर्ष (२०७८) मा नौ जनाले पूर्ण छात्रवृत्ति पाएर अध्ययन जारी राखेका छन् । यसपालि छ जनाले छात्रवृत्ति पाउँदा संस्थाबाट लाभान्वित छात्रछात्राको सङ्ख्या २६ पुगेको छ । जसमध्ये कम्प्युटर विज्ञान विषयका दुई जनाले अध्ययन पूरा गरेका छन् ।






