शिक्षकबाट निवृत्त भएपछि बाख्रापालन व्यवसायमा रमाउँदै हमाल
शिक्षाखबर डेस्क
२८ कार्तिक २०७९, सोमबार
no immg

२८ कार्तिक,दाङ। जुद्धबहादुर हमाल सेवानिवृत्त शिक्षक हुन् । जागिरे जीवनबाट अवकाश भएपछि उनले बसीबसी आनन्दको जीवन व्यतित गर्न सक्थे तर उनी केही नगरी बसेनन् ।

घोराही उपमहानगरपालिका–७ जवरपुरका ५७ वर्षका हमाल अहिले बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

विक्रम संवत् २०७५ सालदेखि केही बाख्रा पालेर व्यवसाय शुरू गरेका उनी त्यसपछि जनसेवा बाख्रा तथा कृषि फार्म दर्ता गरेर खसीबोकाको मासु बिक्री र पाठापाठी पनि उत्पादन गर्दै आएका छन् ।

रोल्पाको रुन्टीगढी गाउँपालिका–३ बाट बसाइँ सरी दाङ झरेका हमाल लामो समय शिक्षण पेशामा आबद्ध थिए । २० वर्षपछि अवकाशप्राप्त पश्चात् खाली समयलाई सदुपयोग गर्दै बाख्रापालन व्यवसाय गर्न थालेको उनको भनाइ छ ।

हमालको परिवार विक्रम संवत् २०५२ सालमा दाङको देउखुरीमा र त्यहाँ करीब २० वर्षको बसाइपछि फेरि घोराही–७ जवरपुरमा बसाइँ सर्दै आएको हो । जगिरको समय सकिएपछि केही काम गर्नुपर्छ भन्ने सोचका साथ कृषि व्यवसायमा आबद्ध भएको उनी बताउँछन् ।

‘मैले खसी, बोकासँगै बीउका लागि बोयर जातको पाठापाठी बिक्री पनि गर्दै आएको छु,’ हमाल भन्छन्, ‘आफूसँग नभएका मात्र अन्यत्रबाट पाठापाठी खरिद गरेर ल्याउने गरेको छु । हाल मेरो फार्ममा १३/१४ वटा पाठापाठीसहित ८० बढी बाख्रा छन् । यसबाट वार्षिक रूपमा १०/१२ लाख रुपैयाँ जति आम्दानी गर्दै आएको छु ।’ यहाँ उत्पादन भएको शुद्ध बोयर जातको बोका तथा पाठीको माग विभिन्न जिल्लाबाट आउने गरेको छ ।

‘यहाँ उत्पादन भएका बोयर जातको बोका तथा पाठीलाई बीउका रुपमा जिल्लाको विभिन्न ठाउँबाट माग हुने गरेको छ,’ उनी भन्छन्, ‘उत्पादन गर्न सके बजारको कुनै समस्या छैन तर मागअनुसार उत्पादन गर्न सकिएको छैन ।’

बाख्रापालनका लागि आवश्यक घाँस हमाल आफैंले उत्पादन गर्दै आएका छन् । उन्नत र आधुनिक जातको घाँस बर्सिम, जै लगाउनाका साथै घाँसको पनि खेती गर्छन् । यससँगै मसुरो, गहुँको भुस पनि उनले खुवाउने गरेका छन् । डाले घाँसको भने हमाललाई समस्या छैन ।

बाख्रापालन नै परिवारको मुख्य आम्दानीको स्रोत भएको र यसबाट प्राप्त भएको आम्दानीले छोरा छोरीका लागि शिक्षा तथा घर खर्च मनग्य छ । बाख्रापालनमा उनलाई श्रीमती र छोराले पनि सहयोग गर्दै आएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१६ फचकुलुवाका किसान दिपेन्द्र वलीले पनि २०७५ सालदेखि व्यावसायिक रूपमा बाख्रापालन व्यावसाय गर्दै आएका छन् । उनीसहित अन्य ३ साथी पनि मिलेर व्यवसाय गर्दै आएका छन् । उनीहरूको फार्ममा हाल पाठापाठी र अन्य गरेर १५० बढी बाख्रा छन् ।

शुरूआती चरणमा १ करोड २५ लाखबाट व्यवसाय गरेको समूहले अहिले ३ करोड बराबरको कारोबार गर्न सफल भएको छ ।

प्रतिक्रिया