३० कार्तिक, भोजपुर। आसन्न निर्वाचनको चहलपहल भइरहँदा पूर्वी पहाडी जिल्ला भोजपुरका ग्रामीण क्षेत्रका कृषक भने खेतमा पहेँलपुर भएर पाकेको धान काट्न र थन्क्याउन व्यस्त देखिन्छन् । मतदाता आफ्नो पक्षमा पार्नका लागि उम्मेदवार बनेका दलका नेता तथा स्वतन्त्र उम्मेदवार भने अहिले चुनावी घरदैलो अभियानमा लागेका छन् ।
नेताहरूमा चुनावको उत्साह देखिए पनि कृषक भने समयमा नै धान भित्र्याउने कार्यमा लागेका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा अहिले धान थन्क्याउने चटारोले कृषकलाई मारामार छ । निर्वाचन आइरहँदा वर्ष दिन खानका लागि उत्पादन गरेको धान पनि भित्र्याउन जरुरी रहेको कृषकको भनाइ छ । कृषक कृष्ण प्रधानले निर्वाचनभन्दा खेतमा धान काट्न व्यस्त भएको बताए । “समयमा धान नथन्काएमा असिना आउन सक्छ र सबै वर्ष दिन खाने खेती नष्ट हुन सक्छ, त्यसैले कृषकको पहिलो काम पाकेको बाली घरमा भित्र्याउनु पनि हो”, प्रधानले भने, “यस पटक दसैँ तिहार छिटो भएकाले चाडपर्व सकिएलगत्तै खेतमा धान काट्न सुरु गरिएको हो ।”
अर्का कृषक सूर्य श्रेष्ठले वर्षभरिको लागि खाने बाली धान भित्र्याउने समय भएकाले निर्वाचनभन्दा खेतीमा विशेष ध्यान दिएको बताए । धमाधम एकैसाथ धान पाकेकाले काम गर्ने मानिसको अभाव देखिने गरेको उनको भनाइ छ । मौसम जुनसुकै बेला प्रतिकूल हुनसक्ने भएकाले असिना र पानीबाट खेती पनि बिग्रने भएकाले आफूहरू अहिले धान थन्क्याउने कार्यमा जुटेको कृषकको धारणा देखिन्छ । कृषक खेतमा नै काम गरिरहेको अवस्थामा भेटिने भएकाले मत माग्नका लागि उम्मेदवारसहित नेता कार्यकर्तासमेत खेतमा नै मत माग्न पुग्ने गरेका छन् । “कृषकलाई धानको मैजारो छ, हामीलाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको के गर्ने खेतबारीमा नै पुगेर भए पनि मतदातासँग मत त माग्नै प¥यो”, दलका नेता कार्यकर्ता भन्छन् ।
निर्वाचनका दिन आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरे पनि अरु बेला खेतबारीको काममा नै व्यस्त हुने कृषक बताउँछन् । जिल्लाका विभिन्न क्षेत्र धानखेतीका लागि पकेट क्षेत्रका रुपमा घोषणा गरिएको छ । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको भोजपुरमा मङ्सिर ४ को निर्वाचनका लागि कूल मतदाता एक लाख २३ हजार तीन सय ७९ जना सहभागी हुने जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।