केपिलासगढीमा विद्यार्थीको ‘होमवर्क’ जाँच कार्यक्रम
शिक्षाखबर डेस्क
१२ मंसिर २०७९, सोमबार
no immg

१२ मंसिर, काठमाडाैँ। केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृहकार्य परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियाशील गराउन गाउँपालिकाले निःशुल्क अभ्यास पुस्तिका (कापी) वितरण गर्ने र विद्यार्थीले लेखिसकेका कापी परीक्षण गर्ने कार्यक्रम लागू गरेको हो ।

गाउँपालिकाले कक्षा कार्य र गृहकार्य परीक्षण गर्ने गरी प्रथम चरणमा कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीलाई आफैँले तयार पारेको ‘विद्यार्थी अभ्यास पुस्तिका’ निःशुल्क वितरण गरेको छ । पृष्ठभूमिमा गाउँपालिकाको कार्यालय र नक्सा राखिएको ‘विद्यार्थी अभ्यास पुस्तिका’ आइतवार औपचारिक कार्यक्रम गरेर विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षकलाई हस्तान्तरणसमेत गरिएको छ ।

गाउँपालिकाले गाउँपालिकाभरिका ३७ सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्मका नौ सय ४९ विद्यार्थीलाई यही मंसिर महिनाका लागि चार÷चारका दरले तीन हजार सात सय ९६ वटा अभ्यास पुस्तिका वितरण गरेको शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिए ।

कक्षा कार्य र गृहकार्य गर्नेक्रममा भरिएको कापीलाई सम्बन्धित विद्यालयका प्रअले गाउँपालिकामा बुझाएर नयाँ कापी लैजाने व्यवस्था गरिएको छ । विद्यार्थीको कापी चेक गर्दा विद्यालय र शिक्षकको शैक्षिणक क्रियाकलापबारे गाउँपालिकालाई जानकारी हुने जनाइएको छ ।

विद्यार्थीको कापी परीक्षण गर्ने नीतिले गाउँपालिकाभरिका विद्यालयमा पाठ्यक्रमलाई एकै समयमा पूरा गर्न दबाब पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ । कापी अभावमा गृहकार्य नगर्ने विद्यार्थीले पनि नियमित गर्ने वातावरण बन्ने गाउँपालिकाको अपेक्षा छ ।

गाउँपालिकाले लागू गरेको यो कार्यक्रमले फर्जी विद्यार्थीको संख्या देखाउने परिपाटीसमेत नियन्त्रण हुने गाउँपालिकाका अध्यक्ष समिर राईले बताए ।

शिक्षकले प्रत्येक दिन कक्षा कार्य र गृहकार्य दिने र रातो मसी प्रयोग गरी जाँच गर्नुपर्ने, विद्यार्थीले सम्पूर्ण पेज लेखिसकेपछि प्रअबाट प्रमाणित गराएर विद्यालयमार्फत शिक्षा शाखामा पठाउनुपर्ने छ । यस्तै, अभिभावकले प्रत्येक दिन शिक्षकले गृहकार्य दिए÷नदिएको जाँच गर्नुपर्ने, आफ्नो छोराछोरीलाई दिइएको गृहकार्य अनिवार्यरुपमा गर्न लगाउनुपर्ने नियम राखिएको छ ।

आगामी शैक्षिक–सत्रदेखि कक्षा ४ र कक्षा ५ मा पनि ‘विद्यार्थी अभ्यास पुस्तिका’ निःशुल्क वितरण गर्दै चेक गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइने छ । कार्यक्रम प्रभावकारी देखिए कक्षा ६ र कक्षा ७ को विज्ञान, गणित र अंग्रेजीको कापी परीक्षण गर्ने अवधारणा बनाइएको अध्यक्ष राई जानकारी दिए ।

प्रतिक्रिया