८ पुस, काठमाडाैँ। काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको ट्राफिक सचेतना कक्षमा १४ हजारभन्दा बढी विद्यार्थीले लाभ लिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यहाँका ७१ वटा सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको थियो।
काठमाडौँ महानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकालाई ट्राफिक नियमसम्बन्धी सचेतना दिने उद्देश्यले कक्षा सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।
सचेतना कक्षामा पैदलयात्रा गर्दा अपनाउनुपर्ने सावधानी, बाटो काट्दा ध्यान पुर्याउनुपर्ने एवं सडक सुरक्षासम्बन्धी आधारभूत कुरा सिकाइएको थियो।
कूल ८९ सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने उद्देश्यले गत मङ्सिर १५ गतेदेखि सुरु गरिएको यस अभियानमा ७१ वटा विद्यालयमा कक्षा सञ्चालन गरिएको र बाँकी रहेका विद्यालयमा पनि निकट भविष्यमै कक्षा सञ्चालन गर्ने योजना रहेको उहाँले बताए।
विद्यार्थीहरूले सिकेका सडक सुरक्षासम्बन्धी ज्ञान उनीहरूका साथीभाइ र अभिभावकसम्म फैलिने तथा विद्यार्थीहरू भावी सवारी चालकसमेत भएकाले सानो उमेरमा सिकेका कुराले दुर्घटना न्यूनीकरणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
विद्यार्थीले लापरबाहीपूर्ण तरिकाले सवारीसाधन चलाउँदा पनि कतिपय दुर्घटनामा पर्ने गरेको यसअघिका तथ्य देखाएको छ।