जानकीमा स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण
शिक्षाखबर डेस्क
८ पुष २०७९, शुक्रबार
no immg

८ पुस, बाँके । जानकी गाउँपालिकामा स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण गरिएको छ । यहाँ रहेका ३९ सामुदायिक र छ निजी विद्यालयमा आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी स्थानीय पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए।

उनले पाठ्यक्रम यही पुस २२ गते हुने गाउँपाललिकाको सभाले पारित गरेपछि त्यसलाई कार्यान्वयन गरिने बताए । ‘स्थानीय पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, सम्पदाको जगेर्ना गर्ने उद्देश्य राखिएको छ’, उनले भने ।

पलिकामा रहेका स्थानीय अगुवा अभिभावक, विभिन्न विद्यालयका प्रधानाध्यापक र स्थानीय विज्ञका रुपमा जीतबहादुर शाह सहितको समूहले करिब दुई महिना छलफल गरेर पाठ्यक्रम निर्धारण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णा भण्डारीले जानकारी दिए ।

पाठ्यक्रमको एक एकाइमा जानकीको परिचय, दुईमा हाम्रो संस्कृति र सम्पदा, तीनमा हाम्रो पेसा–व्यवसाय र प्रविधि, चारमा खुसीका लागि शिक्षा तथा जीवनपयोगी सीप, पाँचमा हामो पर्यावरण र हरित विद्यालय एवं छमा सामाजिक चुनौती र विपद व्यवस्थापनको विषयको सूची रहेको छ । उनका अनुसार कक्षा १ देखि ८ सम्म आधारभूत तहमा लागू गरिने सो पाठ्यक्रमको नाम ‘हामी र हाम्रो जानकी’ रहेको छ ।

प्रतिक्रिया