१३ पुस, सिरहा। सिरहाका किसानले धान थन्क्याएको करीब १ महिनाभन्दा बढी समय बितिसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानले धान खरिद प्रक्रिया अगाडि बढाउने भएको छ ।
कम्पनीले सार्वजनिक सूचना जारी गरी पुस १७ गतेदेखि किसानको धान खरिद गर्ने जनाएको हो ।
कम्पनीले धान खरिद प्रक्रिया ढिलाइ गरेपछि किसानको गुनासो बढ्दै गएको थियो । कम्पनीका प्रमुख रबनकुमार यादव भन्छन्, ‘धान खरिदका लागि केन्द्रीय कार्यालयबाट परिपत्र आउन ढिलाइ भयो, विगतमा मंसिर पहिलो वा दोस्रो हप्तासम्म खरिद प्रक्रिया भइसक्थ्यो ।’
यादवका अनुसार यस वर्षका लागि मध्यम धान सोना मन्सुलीको खरिददर ३ हजार १२८ प्रतिक्विन्टल र कतर्नी धानको ३ हजार ८०० प्रतिक्विन्टल निर्धारण गरिएको छ । केन्द्रले तोकेको कोटाअनुसार कार्यालयले १५ हजार क्विन्टल किसानको धान खरिद गर्ने उनले बताए ।
यहाँ सिरहा, सप्तरी र उदयपुर गरी ३ जिल्लाका किसानले धान बिक्रीका लागि ल्याउने गर्दछन् । उत्पादन परिमाणको अनुपातमा सरकारले खरिद गर्ने धानको परिमाण एकदमै न्यून रहेको यहाँका किसानको गुनासो छ । खाद्य कम्पनीले सीमित परिमाणमा मात्र धान खरिद गर्ने भएको हँुदा यहाँका किसान सस्तोमा व्यापारीलाई धान बेच्न बाध्य छन् ।
धान बिक्री गर्ने किसानले लालपुर्जा, सम्बन्धित स्थानीय तहको सिफारिस र नागरिकताको प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने कार्यालय प्रमुख यादव बताउँछन् । ठूलो परिमाणमा किसानले धान बिक्रीमा ल्याउने तर कार्यालयले सीमित धान मात्र खरिद गर्ने हुँदा त्यसमा बिचौलियाको मात्र पहुँच पुग्ने व्यापक गुनासो बढेपछि खाद्य कम्पनी लहानले यस वर्ष प्रतिकिसान एक पटक वा पटक–पटक गरी ५० क्विन्टलसम्म मात्र धान खरिद गर्ने नीति लिएको यादवले बताए ।
धान बेचेर हिउँदे बाली लगाउन खर्चको जोहो गर्नुपर्ने भएका कारण किसान मर्कामा परेका छन् । ‘सरकारलाई उत्पादनको धान बेच्न चाहन्छौं तर समयमा सरकारले किन्दैन, व्यापारीलाई सस्तोमा धान बिक्री गर्यो, पैसा तुरुन्त पाइँदैन,’ बरियारपट्टि गाउँपालिका–५ का कृषक देवनारायण यादव भन्छन् । उनले लागतअनुसार मूल्य नपाएको गुनासो पनि गरेका छन् ।