२० पुस, काठमाडाैँ। प्रादेशिक र पालिकास्तरीय शिक्षा ऐनमा छुट्टै पहिचानसहित संस्थागत विद्यालयको वर्गीकरणबाट अलग गर्न शिक्षकले माग गरेका छन् । सार्वजनिक शैक्षिक गुठी विद्यालय सङ्घ नेपालद्वारा आज पोखरामा आयोजित प्रादेशिक भेलामा सहभागी गुठीअन्तर्गतका शिक्षकले उक्त माग गरेका हुन् ।
पोखरा विश्व विद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले सरकारले सार्वजनिक शैक्षिक संस्था र गुठीअन्तर्गतका शैक्षिक संस्थालाई विभेद गर्न नहुने बताए । “गुठी संस्थानअन्तर्गत शैक्षिक संस्थाले विद्यार्थीबाट केही मात्रामा शुल्क उठाएर तलब खाने गरेका छन्, त्यो सरकारी विद्यालयका शिक्षकले पाउने तलबभन्दा न्यून छ”, उनले भने ।
सार्वजनिक शैक्षिक गुठी विद्यालय सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष जेएस पौडेलले संस्थाले सरकारलाई पेश गरेको शिक्षाको ढाँचा प्रस्तुत गरेका थिए । गुठीबाट सञ्चालित अधिकांश विद्यालयले प्रदान गर्ने शिक्षा गुणस्तरीय भएको उनको भनाइ थियो ।
सङ्घका अध्यक्ष रुपक राजवंशीले गुठीअन्तर्गतका विद्यालयलाई शिक्षा मन्त्रालयले वास्ता नगरेको प्रति गुनासो गरे । सरकारले दुवै विद्यालयलाई हेर्ने दृष्टिकोण फरक हुन नहुने राजवंशी बताउँछन् । “गुठीअन्तर्गत शिक्षक अवकाश हुँदा रित्तो हात फर्कनुपर्ने अवस्था छ”, उनले भने ।