२३ पुस, चितवन। चितवन जिल्लामा रहेका दुग्ध उत्पादन गर्ने किसानले दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन् ।
पशु आहारको मूल्य बढ्नु र दूधको मूल्य नबढ्नुले लागत अनुसारको मूल्य पाउन नसकेको उनीहरुको गुनासो छ ।
भरतपुर महानगरपालिका–५ का इन्द्रमणि गैरे पशु आहारको मूल्य बढ्नु र दूधको मूल्य यथावत रहनुले समस्यामा परेको बताउँछन् । उनले भने, ‘पशु आहारको मूल्यवृद्धि भएअनुसार उत्पादित दूधको मूल्यसमेत बढाउन आवश्यक छ ।’
राज्यले किसानलाई स्वरोजगार बन्न भनेको भए पनि किसानले उत्पादन गरेको वस्तुको मूल्य उचित नपाउँदा समस्या भएको उनको भनाइ छ । पशु आहारका लागि दाना, चोक्कर, औषधि लगायतको मूल्यमा भएको वृद्धिको अनुपातमा दूधको मूल्य वढाउन पाउनुपर्ने उनले बताए ।
भरतपुर महानगरपालिका–२४ जगतपुरका हरिप्रसाद अधिकारी अहिले दूधको मूल्यभन्दा उत्पादन मूल्य बढी भएको बताउँछन् । उनले भने, ‘प्रतिलिटर दूध उत्पादनका लागि ७० रुपैयाँ पर्छ । हामीले दूध बेच्दा ५६ देखि ६० मा बेच्नुपरेको छ ।’
दूधको मूल्य नबढ्दा दुग्ध उत्पादक कृषक पलायन हुने अवस्थामा पुगेको उनी बताउँछन् । उनी भन्छन्, ‘दुग्ध उत्पादक कृषकको समस्या समाधानका लागि राज्यले ठोस कदम चाल्नुपर्छ ।’ सरकारले किसानको समस्या समाधानका लागि पहल गर्नुपर्ने उनको भनाइ छ ।
रत्ननगर नगरपालिका–१२ का कृषक किशोर वगालेले अहिले तत्कालको समस्या दूधको उचित मूल्य नपाउनु हो भन्छन् । उनी भन्छन्, ‘पशु आहारको मूल्यवृद्धि हुनु र दूधको मूल्य सधैं एकैनास हुनुले समस्या पर्यो ।’
किसानलाई कामदारको समस्या अझै ठूलो रूपमा रहेको छ । उनले थपे, ‘कामदार राख्यो ६ महिना पनि टिकाउन कठिन हुन्छ । सजिलो काम भए पो कामदार लामो समय बस्छन् ।’ कामदार नपाउने समस्या भए पनि दूधको मूल्यमा वृद्धि नहुँदा अझै ठूलो समस्यामा कृषक परेको उनको गुनासो छ । उनी भन्छन्, ‘लागत मूल्य उठाउन पनि कठिन छ ।’