२४ पुस, कालिकोट। कालीकोटको नरहरिनाथ गाउँपालिकाका पाँच सय ६३ घरमा सिकाइ कक्षा सञ्चालन गरिएको छ । शिक्षाको पहुँचमा सुधार ल्याउने उद्देश्यले बालबालिकालाई घरघरमा सिकाइ कक्षा सञ्चालन गरिएको हो ।
गाउँपालिकाका नौवटै वडाका घरघरमा बालबालिकालाई सिकाइ कक्षा सञ्चालनमा ल्याइएको हो । शिक्षाको गुणस्तर बढाउन बालबालिकालाई घरमा नै शिक्षा सिकाउनका लागि विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ र विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ लाई समर्थन गर्दै गाउँपालिकामा घरघरमा सिकाइ कक्षा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए ।
“सहयोगी साझेदार संस्था प्लान नेपालको सहयोगमा अहिले गाउँपालिकाका नौवटै वटामा सिकाइ कक्षा सञ्चालनमा छन्”, उनले भने, “विद्यालय सञ्चालन नभएको समयमा बालबालिकाले घरमै पढ्न पाउने भएको छन् ।”
प्लान नेपालको सहयोग र किर्डाक नेपालद्वारा नरहरिनाथ गाउँपालिका १२ विद्यालयमा ३६ वटा सिकाइ केन्द्र सञ्चालनमा रहेको पढाइ लेखाइ सीप सुधार परियोजना कार्यक्रमका प्रतिनिधि ईशरा बुढाले बताइन् । “प्रत्येक वडामा सहजीकरणका लागि चार जना प्रतिनिधि राखेका छौँ”, उनले भनिन्, “बिहान बेलुकी सबै कक्षामा सिकाउने गरेका छन् ।”
घर–घरमा सिकाइ कक्षाले शिक्षा पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म पुर्याउने काम गरेको नरहरिनाथ–३ कुमालगाउँका स्थानीय जयमति महताराले बताइन् ।
“अशिक्षा र अज्ञानताका कारण हाम्रो समाज पछि परेको र हामीले विद्यालय गएर पढ्न नपाए पनि नानीबाबुहरुले पढ्न पाउने भएका छन्”, उनले भनिन्, “घरघरमा सिकाइ कक्षा स्थापना गरेका कारण विद्यालयभन्दा बाहिर रहेका बालबालिकाले पढ्न पाएका छन् ।”