२८ पुस, नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले नगरका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रु एक लाख रुपियाँसम्म रकम उपलब्ध गराउने भएको छ । साठी वर्ष उमेर पुगेर अवकाश लिने तथा कम्तीमा पाँच वर्ष सेवा गरेका महिला स्वस्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउन लागिएको नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिए ।
महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कम्तीमा पाँच वर्ष सेवा गर्नेलाई उनीहरूले सेवा गरेको प्रत्येक वर्षको रु पाँच हजारका दरले अधिकतम् एक लाखसम्म रकम उपलब्ध गराउने निर्णय भएको अधिकारीले जानकारी दिए । ‘स्वेच्छाले राजीनामा दिएमा, स्वास्थ्य स्वयंसेविकाको कार्यसम्पादनको कारणबाट जिम्मेवारीबाट हटाइएमा वा उमेरबाहेक अन्य कुनै कारणले सेवामा रहन नमिल्ने भएमा यस्तो सुविधा उपलब्ध गराउन नगरपालिका बाध्य हुनेछैन’, नगरप्रमुख अधिकारीले भने । त्यस्तै सेवामा बहाल रहँदाको अवस्थामा कुनै कारण मृत्यु भएमा त्यस्ता स्वयंसेविकाको परिवारलाई पनि रु एक लाख रकम उपलब्ध गराउने नगर कार्यपालिकाले निर्णय गरेको उनले बताए ।
गैँडाकोट नगरपालिकामा हाल ४१ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । चालु आर्थिक वर्ष २०७९(८० मात्रै चार महिला स्वास्थ्य स्वयंसेविकाले उमेरहदका कारण अवकाश पाएका छन् । त्यस्तै एक जनाको मृत्यु भएको छ भने एक जना महिला स्वास्थ्य स्वयंसेविका वडा सदस्यमा निर्वाचित भएकी छिन् ।