सहजरूपमा भत्ता पाएसँगै रामप्रसादराई गाउँपालिकाका ज्येष्ठ नागरिक खुसी
शिक्षाखबर डेस्क
१३ माघ २०७९, शुक्रबार
no immg

१३ पुस, भोजपुर। भोजपुरको रामप्रसादराई गाउँपालिकाले वडास्तरबाट भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो ।

सहजरूपमा भत्ता पाएपछि वृद्धवृद्धा तथा असक्त नागरिक खुसी भएका छन् । वडा नं ७ बासीखोराका ८२ वर्षीय वृद्ध जागिरधन राईले आफ्नै घर छेउबाट भत्ता लिन पाउँदा हर्षित भएको बताए। भत्ता लिन गाउँपालिका केन्द्रसम्म पुग्न धेरै सास्ती हुने गरेको उनको भनाइ छ ।

“वडाबाटै भत्ता पाउँदा अति नै खुसी लागको छ”, वृद्ध राईले भने, “बुढेसकालको ज्यान हिँडेर जान समस्या छ । गाडीमा जाँदा पनि धेरै खर्च हुन्थ्यो । गाउँपालिकाबाट सरहरू आएर यही भत्ता दिनुभयो । अहिले धेरै सहज भएको छ ।” जनप्रतिनिधि आएर पीडा सुन्दै हातमा भत्ता राखिदिएको भन्दै ७७ वर्षीया चेलीमाया राईले खुसी प्रकट गरिन्।

गाउँपालिकाले घुम्ती शिविरमार्फत टोलका मानिस भेला गरेर वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । खास गरेर सामाजिक सुरक्षा भत्ता लिन सहज बनाउन यस्तो कामको थालनी गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राई (निर्माण)ले बताए।

अभियानअन्तर्गत गाउँपालिकाभरिका सामाजिक सुरक्षा भत्ता पाउने सम्पूर्ण एक हजार नौ सय तीन जनालाई भत्ता वितरण गरिने उनको भनाइ छ । “यहाँका ज्येष्ठ तथा अशक्तलाई लक्षित गरेर सेवा दिइरहेका छौँ”, अध्यक्ष राईले भने। सरकारले राहतको रूपमा दिएको सामाजिक सुरक्षा भत्ता लिन आउँदा समस्या भएको गुनासो आफूसम्म आएपछि कार्यपालिका बैठकबाट निर्णय पारित गरेर कामको थालनी गरेको राईले बताए।

बुधबारबाट सुरु भएको वितरणकार्य माघ १९ गतेसम्म सञ्चालन हुने छ । वडास्तरमै खाता खोल्ने कामसमेत भइरहेको उनले जानकारी दिए। नागरिकको गुनासो सुनेर सोहीअनुसार काम गर्नका लागि सम्पूर्ण वडामा कल सेन्टर सञ्चालनका लागि काम गर्ने योजना रहेको समेत अध्यक्ष राईले बताए। उनले भने, “नागरिकको गुनासो तथा सुझाव सङ्कलनका लागि कल सेन्टर सञ्चालनका लागि काम गरिरहेका छौँ ।”

प्रतिक्रिया