अमेरिकामा रहेका नेपाली चिकित्सकले देवघाटमा बनाए स्वास्थ्य केन्द्र
शिक्षाखबर डेस्क
१३ माघ २०७९, शुक्रबार
no immg

माघ १३, चितवन। अमेरिकामा रहेका नेपाली चिकित्सकले पवित्र तीर्थस्थल देवघाटमा स्वास्थ्य केन्द्र बनाएका छन् । एशोसिएशन अफ नेपाली फिजिसियन इन अमेरिका (एन्पा) को आर्थिक सहयोग र गुणनिधि खनाल मेमोरियल ट्रष्टको समन्वयमा केन्द्र निर्माण गरिएको हो ।

भरतपुर महानगरपालिका–१ देवघाटमा यहाँका ज्येष्ठ नागरिकलाई लक्षित गरी देवघाट सु–स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । जलेश्वर आश्रमले उपलब्ध गराएको एक कठ्ठा जग्गामा रु ७० लाख लागतमा भवन निर्माण गरिएको छ । विसं २०७८ कात्तिक २९ गते शिलान्यास गरी निर्माण सुरु गरिएको भवन सम्पन्न भएको छ ।

भवन निर्माण समितिको संयोजक नेपाल पत्रकार महासङ्घ चितवनका पूर्वअध्यक्ष हरि पोखरेलका अनुसार चारकोठे पक्की भवन बनेको छ । भवनमा देवघाटमा रहेका वृद्धवृद्धाको उपचार शुरु गरिएको छ । विगत पाँच वर्षदेखि नै एउटा कोठा भाडामा लिएर उपचार सेवा दिँदै आएकामा अहिले भवन निर्माण गरी सोही भवनबाट सेवा सुरु गरिएको हो । केन्द्रमा चितवन मेडिकल कलेज, भरतपुर अस्पताललगायतबाट चिकित्सक गएर परीक्षण गर्ने गरेका छन् । चिकित्सक स्वतःस्फूर्तरूपमा सहयोग गर्न जाने गरेको पोखरेलले बताउनुभयो । यसैगरी औषधिसमेत निःशुल्क व्यवस्था गरिँदै आएको छ ।

उपचारमा आउने बिरामीको विधुतीय तथ्याङ्क राख्ने गरिएको पोखरेलले जानकारी दिए । उनका अनुसार राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा यो कार्य गरिएको हो । पोखरेलले भने, “बिरामीको स्वास्थ्य इतिहास, सेवन गरिरहेको औषधिलगायत सबै विषय कम्प्युटरमा राखिन्छ ।” यस्तो तथ्याङ्क अमेरिकामा रहेका चिकित्सकले समेत हेर्न मिल्ने उनले जनाए ।

प्रतिक्रिया