१७ माघ, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७, थगाममा रहेको सरस्वतीशङ्कर माविको नवनिर्मित आठकोठे भवनको उद्घाटन गरिएको छ । भवनको प्रतिनिधिसभा सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विद्यालयको ६४औँ वार्षिकोत्सवका अवसरमा उद्घाटन गरेका हुन् ।
कार्यक्रमकै अवसर पारेर उनले समाजसेवी शङ्कर श्रेष्ठ र शेखर श्रेष्ठको बुबाआमाको विद्यालय प्राङ्गणमा निर्माण भएको अर्धकद प्रतिमाको अनावरण गरे । वार्षिकोत्सव मूल समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बस्नेतले गुणस्तरीय शिक्षाका लागि विद्यालयमा भौतिक पूर्वाधारको विकास अपरिहार्य भएको बताए । स्थानीयवासीको श्रमदानसहित रु एक करोड १६ लाखमा निर्माण भएको सो भवन निर्माणका लागि स्थानीय समाजसेवी शङ्कर श्रेष्ठले रु एक करोड २० लाख आर्थिक सहयोग उपलब्ध गराएका थिए ।
श्रेष्ठले विद्यालयका लागि आठ आना जग्गासमेत दान गर्नुभएको थियो भने स्थानीय कृष्णबहादुर श्रेष्ठले पनि आठ आना जग्गादान गरेका थिए । विद्यालयका प्रधानाध्यापक तोपबहादुर ओलीले हाल विद्यालयमा १७ वटा कक्षाकोठा रहेको र बाह्रबिसे नगरपालिकाको रु दुई लाख आर्थिक सहयोगमा सरस्वतीको मन्दिर पनि निर्माण भएको जानकारी दिए ।






