नाटक महोत्सवमा विद्यालयस्तरीय सहभागिता बढ्दो
शिक्षाखबर डेस्क
१८ माघ २०७९, बुधबार
no immg

१८ माघ, पोखरा। पोखरा थिएटरको आयोजनामा विगत चार वर्षदेखि विद्यालयस्तरीय नाटक महोत्सव आयोजना भइरहेको छ । पोखरास्थित गन्धर्व नाटकघरमा माघ १४ देखि तेस्रो संस्करणको नाटक महोत्सव चलिरहेको छ ।

विसं २०७६ मा पोखरा महानगरस्तरीय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले त्यसपछि उक्त महोत्सवलाई प्रदेशस्तरीय बनाएको हो । सुरुमा कम सहभागिता भए पनि पछिल्ला दिनमा नाटकमा सहभागी विद्यालय बढेको नाटक महोत्सव संयोजक परिवर्तनले जानकारी दिए । पहिलो संस्करणमा विद्यालयमै गएर नाटक आफैले तयार गरिदिने अनि नाटकघरमा मञ्चन गर्ने शर्तमा अधिकांश नाटक आएको परिवर्तनले बताए ।

“त्यो समयमा हामीले १० वटा नाटक आउने अपेक्षा गरेका थियौंँ तर आठवटा नाटक आयो”, परिवर्तनले भने, “त्यो पनि लौन नाटक महोत्सव हुदैछ हामी आएर सिकाउँछौँं, अनि महोत्सवमा ल्याइदिन प¥यो भनेर हामीले आग्रह गरेपछि आएका हुन् ।” प्रदेश सरकारको सहकार्यमा प्रदेशस्तरीय बनाएपछि नाटकको सङ्ख्या ह्वात्तै बढेको उनले बताए ।

प्रदेशस्तरीय बनाएको पहिलो वर्ष ४० वटा नाटकले सहभागिता जनाएका थिए । त्यो समय भर्चुअल सहभागिताले पनि सङ्ख्या बढाएको उनले बताए ।

पहिलो प्रदेशस्तरीय नाटक महोत्सव गरेपछि दोस्रो संस्करणमा २४ नाटक सहभागी भए । त्यसबाट १२ नाटक छनोट भएर महोत्सवमा भाग लिए । त्यो बेला गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना भएर महोत्सवमा सहकार्य गरेको गन्धर्व नाटकघरका अध्यक्षसमेत रहनुभएका परिवर्तनले बताए ।

पछिल्ला समय विद्यालयले नाटकको महत्व बुझ्दै गएको नाटक छनोट समितिका संयोजक तथा कलाकार प्रकाश घिमिरेले बताउनुभयो । गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राइट फर चिल्ड्रेनको सहकार्यमा अहिले तेस्रो गण्डकी प्रदेश विद्यालयस्तरीय नाटक महोत्सव सञ्चालन भइरहेको छ ।

यो पटकको महोत्सवमा २९ विद्यालयको स्क्रिप्ट प्राप्त भएको घिमिरेले जानकारी दिए। “पछिल्लो समयमा नाटकमा विद्यालयको निकै चासो बढेको छ । त्यसैले होला यो पटक २९ विद्यालयले स्क्रिप्ट पठाएका थिए”, कलाकार घिमिरेले भने, “यो पटक १०÷१२ वटा मात्र राख्ने की भन्ने थियो तर सबै राम्रा भएकाले २० वटा छनोट गरेर मञ्चन भइरहेको छ ।” नाटकको विद्यालयस्तरमा महत्व बढ्दै गएकाले अबको केही वर्षमा गण्डकी प्रदेश नाट्य क्षेत्रमा अब्बल हुने उनको विश्वास छ ।

नाटकघरको आयोजनामा भएको प्रदेशस्तरीय महोत्सवले आफूहरुमा उत्साह थपेको नवलपुरको देवचुली १ को नेपाल नमुना मावीका शिक्षक सुदिप भुषालले बताए । विद्यालयमा अभिनय समिति बनाएरै काम थालेपनि अवसर नपाइरहँदा यो आयोजनाले राम्रो अवसर प्रदान गरेको पनि उनको भनाइ थियो ।

सोही विद्यालयबाट नाटकमा सहभागी विद्यार्थी कलाकार सुवास्ना ढकालले विद्यालय बाहिर पनि नाटक प्रदर्शन गर्ने मौका पाएको बताए । “हामीले स्कुलका कार्यक्रममा नाटक प्रस्तुत गरिरहेका थियौँ । स्कुलभन्दा बाहिर देखाउने मौका नै पाएका थिएनौँ”, सुवास्नाले भने, “यसले हामीलाई उत्साह बढाएको छ । आगामी दिनमा अझ राम्रो गर्न यसले सहयोग गर्छ ।”

यो पटकको महोत्सवमा १९ विद्यालयका नाटकसँगै अतिथि मञ्चनका रुपमा धुमधामको घुमघाम नाटक मञ्चन हुने महोत्सव संयोजक परिवर्तनले जानकारी दिए । महोत्सवमा छानिएका नाटकलाई प्रोत्साहनस्वरुप प्रति विद्यालय रु १०÷१० हजार प्रदान गरिने उनले बताए । नाटकको आधार नै विद्यालय भएकाले आगामी वर्ष पनि विद्यालयस्तरीय नाटक महोत्सवलाई निरन्तरता दिने उनले बताए ।

प्रतिक्रिया