फूलखेतीबाट मासिक ३५ हजार आम्दानी
शिक्षाखबर डेस्क
२२ माघ २०७९, आईतवार
no immg

२२ माघ, बुद्धभूमि । पहाडको शिरमा पुर्खादेखि मिलेर बसेको सानो गाउँ । घरछेउको भिरालो बारी । रहनसहन र चालचलनमा गाउँले झझल्को दिने परिवेशमा ढकमक्क फुलेका फूल । झट्ट हेर्दा कुनै तराईका फाँटमा गन्यमान्यले घर सजाउन रोपेका फूलका बगैँचाजस्तै लाग्छ ।

तर यो त विगत १५ वर्षदेखि व्यावसायिक पुष्पखेती गर्दै आएका कृषक कमानसिंह दर्लामीको व्यवसाय हो । उमेरले ६३ वर्ष कटेका दर्लामीले कुनै चलनचल्तीको व्यवसाय भने गरेको होइन । सुन्दा अच्चम लाग्ने तर दाम, नाम र इज्जत कमाएरै फूलखेतीबाट दैनिकी चलाउँदै आउएका छन् ।

तराईको फाँट कटेपछि झण्डै ३० किलोमिटर पहाड उक्लियौँ भने अर्घाखाँची शीतगङ्गा नगरपालिका ठाडाका एक किसानको घरमा फुलाएको फूलले यस्तै रमणीय दृश्य देख्न सकिन्छ । अर्घाखाँचीलगायत कपिलवस्तु, रूपन्देही, दाङ, नवलपरासीसम्म पुष्प व्यवसायका रूपमा नाम कमाउनुभएका दर्लामीले यसैबाट दैनिकी चलाउँदै आएका छन् । पुष्पखेतीबाट मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी गर्ने उनले बताए । सानै उमेरदेखि फूलका सौखिन दर्लामीले कुनै बेला यसरी फूलको खेती गरिएला भन्ने सोचेका थिएन ।

‘सानैदेखि आर्टको काम गर्दै आएको हुँ, आर्टको काम गर्दा थुप्रै चित्र बनाएको छु । त्यही पेसा गर्दैगर्दा पुष्पखेती गर्ने सोच पलायो । शोखले गरेको पुष्पखेती एकाएक फैलिएर व्यवसायका रूपमा परिणत भयो’, दर्लामीले भने ।

छ सन्तानका बाबु उनी जागिरको सिलसिलामा भारतका विभिन्न स्थानसम्म पुगेका छन् । नेपालमै केही वर्ष अध्यापनको अनुभव पनि छ ।

उनले आफ्नो साढे छ रोपनी जग्गामा पुष्पखेती गरेको बताए । बाह्रै महिना फुल्ने फूल लगाएका उनले विशेषगरी तिहारमा बढी प्रयोग गरिए पनि अघिपछि त्यति प्रयोग नगरिने अनुभव सुनाए । फूलको व्यापार पनि मौसमअनुसार हुने उनको भनाइ छ । उनी भन्छन्, ‘बाह्रै महिना मेरो माग बढ्दो छ । फूलमात्रै नभएर फूलका बिरुवा पनि उत्पादन गर्ने गरेको छु । मैले उत्पादन गरेका फूलका बिरुवा ठूला नर्सरीमा लगाउँछन् ।’

अहिले उनी यिनै फूल लिएर कपिलवस्तु झरेका छन् । यही माघ १७ गतेदेखि जारी कपिलवस्तु महोत्सवमा उनले फूलको स्टल राखेका छन् । केही वर्षयता कपिलवस्तु महोत्सवमा स्टल राख्दै आएका उनले यस वर्ष पनि निरन्तरता दिएको बताए । महोत्सव अवलोकन गर्न आउने सर्वसाधारणलाई उनले फूलखेती लगाउने तरिका पनि सिकाउने गरेका छन् । कतिपयले महोत्सवबाट घरमा शोभाका लागि फूलका बिरुवा किनेर लैजाने गरेको उनले सुनाए ।

कृषि तथा पर्यटन महोत्सवमा आयोजकले आफूलाई स्टल ल्याउन आग्रह गरेकाले यहाँ आएको उनले सुनाए । कपिलवस्तुका विभिन्न स्थानमा लाग्ने महोत्सवमा आफूले स्टल लैजाने गरेको उनले बताए ।

पुष्प व्यवसायी दर्लामीले लालुपाते, गजेनियाँ, हेसराज, बेगुनिया, जिरेनियम, डगफ्लावर, सयपत्री, टिकुमा, कृष्णकली, सालविया, गोदावरीलगायत दुई दर्जनभन्दा बढी जातका फूल लगाउने गरेका छन् । उनले तीन जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् भने अन्य चार–पाँच जनालाई सिजनअनुसार जागिर दिँदै आएको उनले बताए ।

प्रतिक्रिया