२ फागुन, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । मन्त्रालयले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा अस्पतालमा सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने जनाएको छ ।
मन्त्रालयले सङ्घ र प्रदेशअन्तर्गतका अस्पतालहरूमा अनलाइन टिकेटिङ, रेफरललगायत स्वास्थ्य सेवासँग सम्बन्धित सबै कार्य डिजिटल प्रणालीमार्फत गर्ने गरी इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू गर्नेसमेत कार्ययोजनामा उल्लेख गरेको छ ।
यस्तै कार्ययोजनामा सङ्घअन्तर्गतका अस्पतालहरूबाट प्रदान गरिने सेवाको शुल्कमा एकरूपता कायम गर्ने भएको छ । सङ्घअन्तर्गतका अस्पतालहरूबाट प्रदान गरिने सेवाको शुल्कमा एकरूपता कायम गर्ने स्वास्थ्य सेवा शुल्क निर्धारण समितिले अस्पतालहरूबाट प्रदान गरिने सेवा शुल्कको सूची तयार गर्नेछ । यसरी तयार गरिएकामा सेवा शुल्क सूची मन्त्रालयबाट स्वीकृत गरी कार्यान्वयन गरिने कार्ययोजनामा उल्लेख गरिएको छ ।
कार्ययोजनामा ‘मेक इन नेपाल’को मर्मअनुरूप आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधिहरू स्वदेशमा नै उत्पादन गर्न नेपाल औषधि लिमिटेडको क्षमता अभिवृद्धि गर्ने उल्लेख गरिएको छ ।
एक चिकित्सक एक स्वास्थ्यकर्मी
यस्तै कार्ययोजनामा एक चिकित्सक एक स्वास्थ्यकर्मी कार्यक्रम अघि सारिने उल्लेख गरिएको छ । मन्त्रालयले तीन ठूला अस्पतालमा एक चिकित्सक÷स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्ने योजना अगाडि बढाएको छ ।
कार्ययोजनामा वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालमा उक्त कार्यक्रम लागू गरिनेछ । यी अस्पतालमा फागुनदेखि एक चिकित्सक एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू गरिने कार्ययोजनामा उल्लेख गरिएको छ ।
यस्तै कार्ययोजनामा मौजुदा अस्पताल विकास समिति गठन आदेशहरूलाई प्रतिस्थापन गर्ने गरी सङ्घअन्तर्गतका सबै अस्पतालहरूलाई परिचालन गर्ने एकीकृत अस्पताल विकास समिति गठन आदेश तर्जुमा गर्ने भनिएको छ ।