७ फागुन, तनहुँ। तनहुँको भानु नगरपालिकाले स्वास्थ्य संस्थालाई गर्भवती परीक्षण गर्ने उपकरण हस्तान्तरण गरेको छ । नगरपालिकाले विभिन्न वडामा रहेका १६ स्वास्थ्य संस्थालाई उक्त उपकरण हस्तान्तरण गरेको हो ।
स्वास्थ्य संस्थामा गर्भवतीको सहज रूपमा परीक्षणका लागि उक्त उपकरण हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार करिब रु चार लाख मूल्य बराबरका सामग्री हस्तान्तरण गरिएको छ ।
“यो उपकरणले गर्भवतीको सहज रुपमा गर्भ जाँचका लागि सहयोग पुर्याउँछ”, उनले भने । स्वास्थ्य संस्थामा गर्भ परीक्षण गर्ने महिलाको सङ्ख्या कम रहेकाले त्यसतर्फ आकर्षण बढाउन उपकरणले सहयोग पुग्ने विश्वास लिइएको छ । “अहिलेको अवस्थामा पनि महिला गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा आउने सङ्ख्या कम छ, स्वास्थ्य संस्थामै आएर गर्भ परीक्षण गराउनुपर्छ भनेर सचेतना जगाउने काम पनि गरेका छौँ”, भट्टराईले भने ।
शिशु मृत्युदर कम गराउँदै आमाको स्वास्थ्य जोखिम न्यूनीकरणका लागि स्वास्थ्य संस्थामै प्रसूति गराउनुपर्ने भानु नगरपालिकाका उपप्रमुख उमा गोतामेले बताइन् । “घरमा सुत्केरी गराउँदा जोखिम हुन्छ तर अझै पनि घरमा सुत्केरी गराउने सङ्ख्या घटेको छैन, यसतर्फ महिलालाई सचेतना जगाउन नगरपालिकाको तर्फबाट काम भइरहेको छ”, उनले भनिन् ।
गर्भवती भएपछि चार पटक स्वास्थ्य संस्थामा परीक्षण गराउँदा सरकारका तर्फबाट रु दुई हजार आठ सय प्रोत्साहनवापत दिने गरिएको छ । नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउँदै आएको छ । भानु नगरपालिका–१ सालबिस्नेस्थित स्वास्थ्य संस्थामा अल्ट्रासाउण्ड सेवा सुरुआत भइसकेको छ ।