पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षाको अनुगमन
शिक्षाखबर डेस्क
११ फाल्गुन २०७९, बिहीबार
no immg

११ फागुन, काठमाडाैँ। चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राडा डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ ।

चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्रतर्फ स्नातक तहमा सञ्चालन भएको ‘विशेष आवश्यकता शिक्षा’ को अनुगमन गर्न चार सदस्यीय प्राध्यापकको टोलीले विश्वविद्यालयको भ्रमण गरेको हो । टोलीले विशेष आवश्यकता शिक्षामा अध्ययनरत विद्यार्थीसँग बुधबार छलफल र अन्तक्र्रियासमेत गरेको छ । छलफलको क्रममा विशेष आवश्यकता शिक्षाको आवश्यकता, अवसर र चुनौतीका विषयमा विद्यार्थीले जिज्ञासा राखेका थिए ।

कोरियाली प्राध्यापकको टोलीले भने अध्ययन र सिकाइ प्रक्रियाका विषयमा विद्यार्थीसँग प्रश्न गरेका थिए । अपाङ्गता र विशेष क्षमता भएका मानिसका क्षेत्रमा यो शिक्षा प्रभावकारी हुने भन्दै उनिहरुले कोरियामा यसको धेरै माग रहेको जानकारी गराए ।

कोरियाको निजी, सार्वजनिक र सरकारी क्षेत्रमा यो शिक्षा प्राप्त गरेका विद्यार्थीले रोजगारी पाउने गरेको उनिहरुको भनाइ छ । कला, शिक्षा तथा कानुन सङ्कायका डिन प्रा डा अनिलकुमार पोखरेलको नेतृत्वमा विश्वविद्यालयका योजना शाखा प्रमुख डा कोमल दुलाल, जनता आदर्श बहुमुखी क्याम्पसका प्रमुख महेशप्रसाद निरौलालगायतको टोलीसँग कोरियाली प्राध्यापकको टोलीले छलफलसमेत गरेको छ ।

विशेष आवश्यकता शिक्षालाई प्रभावकारी बनाउने, यसमा स्नातक तह उत्तीर्ण उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्तिमा कोरियामा स्नातकोत्तर तहको अध्ययनको अवसर दिने, अनुभव र शिक्षा आदान प्रदानका लागि पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकलाई चाङगाव विश्वविद्यालयमा अध्ययनको अवसर प्रदान गर्ने विषयमा छलफल भएको र यसमा कोरियाली टोली सकारात्मक रहेको क्याम्पस प्रमुख निरौलाले जानकारी दिए ।

पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरमा गत वर्षदेखि शिक्षा सङ्कायतर्फ स्नातक तहमा विशेष आवश्यकता शिक्षाको अध्यापन हुँदै आएको छ ।

प्रतिक्रिया