स्ववियु निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता
शिक्षाखबर डेस्क
२० फाल्गुन २०७९, शनिबार
no immg

२० फागुन, काठमाडाैँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शुक्रबार उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता भएका छन् ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनले उत्साहपूर्वक निर्वाचनमा सहभागी हुनका लागि सङ्गठन दर्ता गराएको बताए।

“एक÷दुई वटा क्याम्पसबाहेक देशभरि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठन दर्ता गराएका छन्”, उनले भने, “अब विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ ।” निर्वाचन कार्यतालिकाअनुसार आज विद्यार्थी सङ्गठन दर्ता गर्ने तोकिएको थियो ।

निर्देशनालयका निर्देशक अधिकारीले उपत्यकामा एउटा क्याम्पसबाहेक सबै क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता भएको जानकारी दिए । उनका अनुसार आयुर्वेदिक क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता हुन सकेन । उनले उपत्यकाबाहिर लमजुङको कृषि क्याम्पसमा यही फागुन २१ गते विद्यार्थी सङ्गठन दर्ता तोकिएको जानकारी दिए ।

उनले उपत्यकामा २१ वटा आङ्गिक क्याम्पसमा सङ्गठन दर्ता भएको बताए। अधिकारीका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १९, पुल्चोक इञ्जिनिरिङमा सात, नेपाल ल क्याम्पसमा १७, पद्मकन्या बहुमुखी क्याम्पसमा ११, शङ्करदेव क्याम्पसमा १२, त्रिचन्द्र बहुमुखी क्याम्पसमा २४, रत्नराज्य क्याम्पसमा १७, नेपाल कमर्श क्याम्पसमा १६ र अमृत साइन्स क्याम्पसमा १४ विद्यार्थी सङ्गठन दर्ता भएका छन् ।

निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी सङ्गठनले फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुनेछ ।

प्रतिक्रिया