२५ फागुन, पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाले स्नातकोत्तर तह उत्र्तीण महिलालाई सम्मान गरेको छ ।
पालिकाले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पालिकाभित्रका स्नातकोत्तर तह उत्तीर्ण दश जना महिलालाई सम्मान गरिएको हो । नगद रु पाँच हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताए । पाल्पाकै दुर्गम र विकट क्षेत्र मानिने निस्दी गाउँपालिकामा मगर समुदायको बाक्लो बसोबास छ ।
पालिकाभित्रका महिलालाई शैक्षिक क्षेत्रमा प्रोत्साहन गर्न र बीचमै कक्षा छाड्ने दर घटाउन स्नातकोत्तर तह उत्र्तीण महिलालाई सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले बताए ।
“अझैपनि गाउँघरमा महिला शैक्षिक क्षेत्रको माथिल्लो तहसम्म पुग्ने कम छन्, महिला शिक्षित भएमात्रै घरपरिवार, समाज शिक्षित बन्छ, त्यसकारण महिलालाई शिक्षामा हौसला बढाउन सम्मान कार्यक्रम आयोजना गरेका हौँ”, उनले भने ।
ग्रामीण भेगमा बालविवाह व्याप्त छ । उमेर नपुग्दै विवाह गर्ने, बीचमै कक्षा छाड्ने प्रवृत्तिको अन्त्यका लागि यस्ता प्रोत्साहनमूलक कार्यक्रमले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।