बालबालिकालाई परीक्षाका नाममा तनाव दिन हुँदैन : महामन्त्री थापा
शिक्षाखबर डेस्क
११ चैत्र २०७९, शनिबार
no immg

११ चैत, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई परीक्षाको नाममा तनाव दिन नहुने बताउनुभएको छ ।

साई शिक्षा निकेतन माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले बालबालिकालाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने बताएका हुन् ।

“बालबालिकालाई बाँच्न, नाच्न र हास्न सिकाऔँ, बढी तनाव दिने काम नगरौँ, मेहनत गर्न सिकाऔँ”, उनले भने, “बालबालिकालाई डर दिने गरी शैक्षिक वातावरण बनाउन हुँदैन ।”

महामन्त्री थापाले बालबालिकालाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने बताए । एक पटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उहाँको भनाइ छ ।

“साना–साना बालबालिकामा डर पलाउनु भनेको पछि गएर जिन्दगीसँग हार खानु हो, बालबालिकालाई प्रोत्साहित हुने गरी शिक्षा दिनुपर्छ”, उनले भने ।

प्रतिक्रिया