निर्देशिका पालना गर्दैनन् स्कुल बसका चालक, यान्त्रिक अवस्था पनि कमजोर
शिक्षाखबर डेस्क
१३ चैत्र २०७९, सोमबार
no immg

१३ चैत, काठमाडाैँ । बालबालिका बोक्ने स्कुल बसहरू निर्देशिकाले तोकेको मापदण्डसमेत पूरा नगरी सञ्चालन नहुँदा दुर्घटनाको जोखिम बढिरहेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालकाय अनुसार उपत्यकामा सञ्चालित स्कुल बसहरु मापदण्ड विपरीत चाहिँ चल्ने गरेको पाइएकाले यस्ता गाडीहरूबाट बालबालिका जोखिममा पर्ने हुँदा जाँच अभियानलाई तीव्रता दिएको जनाएको छ ।

सोही अभियानअन्तर्गत ट्राफिक प्रहरीले आज गरेको विशेष जाँच अभियानका क्रममा यसरी मापदण्ड पूरा नगरी सञ्चालन भएका १४ वटा स्कुल बसका चालकलाई कारबाही गरेको छ ।

उपत्यकाका विभिन्न स्थानमा भएको जाँचका क्रममा स्कुल बस निर्देशिका, २०७४ बमोजिमका मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने उनीहरु कारबाहीमा परेका कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार यसरी आज भएको जाँच अभियानमा स्कुल बसहित दुई सय ८२ वटा सवारी साधनका चालकहरू कारबाहीमा परेका छन् । उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित जाँच अभियान चलाएको भट्टले जानकारी दिए ।

यस्तै, यान्त्रिक अवस्था ठीक नभएका गाडीहरू पनि उपत्यकामा निर्बाध रूपमा चलिरहेको छ । त्यसरी सञ्चालन भएका सवारी साधनका ४७ जना चालकलाई कारबाही गरिएको पनि उनले जानकारी दिए । त्यस्ता सवारीमा ह्यान्डब्रेक ठीक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत अवस्था ठीक नभएका पाइएका छन् ।

उनीहरूलाई सवारी साधन मर्मतपश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने जनाइएको छ । अवस्था ठीक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकलाई प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया