अनुदानमा आधुनिक कृषि सामग्री वितरण
शिक्षाखबर डेस्क
१६ चैत्र २०७९, बिहीबार
no immg

१६ चैत, सङ्खुवासभा ।  परम्परागत खेतीलाई आधुनिक खेतीमा परिवर्तन गर्न सङ्खुवासभाका किसानलाई कृषि सामग्री वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाले विभिन्न कृषक समूह, कृषि फर्म र सहकारी संस्थालाई आधुनिक कृषि सामग्री वितरण गरेको हो ।

अलैँची जोन, सुन्तला जोन र तरकारी ब्लक क्षेत्रका कृषकलाई अनुदानमा कृषि सामग्री वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए । सुन्तला जोन क्षेत्र सङ्खुवासभाका ३५ र भोजपुरका २९ कृषकलाई ८५ प्रतिशत अनुदानमा सिँचाइका लागि पाइप वितरण गरिएको छ । त्यस्तै मिनिट्रिलर २२, ब्रसकटर १४, स्प्रेयर छ, सिकेचर, डिजिटल काँटालगायतका आधुनिक कृषि सामग्री अनुदानमा वितरण गरिएको छ ।

कृषि यान्त्रिकीकरण कार्यक्रमा छनोट भएका कृषक, कृषि समूह र सहकारी संस्थालाई अनुदानमा आधुनिक कृषि सामग्री वितरण गरिएको प्रमुख गुरुङले बताउनुभयो । सामग्री हस्तान्तरण गर्दै जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रमुख सुमन शाक्यले परम्परागत कृषि व्यवसायलाई आधुनिकीकरणमा बदलेर आम्दानी वृद्धि गर्नुपर्ने बताए । उनले कृषिमा व्यावसायिकता बढाएर र कृषि उत्पादन बढाएर आर्थिक उपार्जन गर्न आधुनिक सामग्री प्रभावकारी हुने विश्वास व्यक्त गरे । कृषिलाई व्यवसाय उन्मुख बनाउन उत्पादन बढाउनुपर्नेमा उले जोड दिए ।

आधुनिक कृषि व्यवसायले आम्दानी वृद्धि गरी कृषकलाई आर्थिकरूपले सक्षम बनाउने प्रमुख शाक्यको भनाइ छ । कार्यक्रममा विभिन्न कृषक समूह र कृषकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया