१९ चैत्र, पोखरा । पोखरास्थित रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको २१औँ बहृत् रक्तदान कार्यक्रममा एक सय १० पिन्ट रगत सङ्कलन भएको छ । रक्तदानप्रति नयाँ रक्तदातालाई प्रेरित गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा ९४ पुरुष र १६ महिलाले रक्तदान गरेका हुन् ।
तीमध्ये ३० जना नयाँ रक्तदाता रहेको कार्यक्रम संयोजक कृष्ण सुवेदीले जानकारी दिए । रेडियो अन्नपूर्णले आफ्नो स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत बर्सेनि रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
रक्तदान कार्यक्रमका लागि रक्तसञ्चार केन्द्र पोखरा र फिस्टेल नर्सिङले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । कार्यक्रममा नेपाल बैंक लिमिटेड, पोखरा इन्टरनेट प्रालि, ब्रिज सिमेन्ट प्रालिलगायत सामाजिक तथा व्यावसायिक सङ्घसंस्थाको सहकार्य रहेको रेडियोका स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले बताए ।
उनले मानिसहरूको भावनामा सकारात्मक परिवर्तन ल्याउन रेडियोले रक्तदान कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्दै आएको उल्लेख गरे । सोही अवसरमा आत्महत्या रोकथामसम्बन्धी कोशिस नेपालले आयोजना गरेको टिकटक प्रतियोगिताका विजेता अनिशा अधिकारी, लक्ष्मी खत्री र प्रतिमा पौडेललाई पुरस्कार प्रदान गरिएको थियो ।