काठमाडौँ — लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघेको छ । पशुसेवा विभागको तथ्यांकअनुसार साउन १२ गतेसम्म देशभर ५० हजार ८२६ गाईगोरु, बाच्छाबाच्छी, राँगाभैंसी तथा पाडापाडी मरेका छन् । विभागका अनुसार देशभर कुल १० लाख ८८ हजार पशु संक्रमित भएकोमा ७ लाख ८९ हजार निको भएका छन् भने २ लाख ४८ हजार संक्रमित अवस्थामा छन् ।
कुल ३ लाख ५० हजार पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको विभागले जनाएको छ । विभागका अनुसार हालसम्म कोशी प्रदेशमा ५ हजार ४२, मधेसमा १ हजार ७ सय, वाग्मतीमा ३ हजार ४७६, गण्डकीमा २ हजार २९५, लुम्बिनीमा ४ हजार, कर्णालीमा ८ हजार ७०३ र सुदूरपश्चिममा २५ हजार ६१० पशु मरेका छन् ।
नेपालमा पहिलो पटक २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकाका गाईगोरुमा रोग देखा परेको विभागले जनाएको छ । रोगबाट हाल कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका पहाडी क्षेत्रका पशु बढी प्रभावित भएका छन् । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने र र्याल सिँगान बग्नेजस्ता लक्षण देखा पर्दछन् ।