नर्सिङको पढाइ नहुँदा कलेजको भवन बन्यो अस्पतालको स्टोर शाखा
शिक्षाखबर डेस्क
६ आश्विन २०८०, शनिबार
no immg

राजविराज / सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको परिसरमा झण्डै सात करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको नर्सिङ कलेजको भवन अस्पतालको स्टोर शाखा बनेको छ । नर्सिङ पढाइका लागि स्वीकृति लिन कहिँकतैबाट पहल नभएपछि पढाइ सुरु हुन नसक्दा कलेजको भवनमा अस्पतालले स्टोर राखेको छ ।

संसदीय निर्वाचन ताका जसपा अध्यक्ष उपेन्द्र यादबको ‘ड्रिम प्रोजेक्ट’को रुपमा नर्सिङ कलेजको प्रचारप्रसार गरिएको थियो । तात्कालिन प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवको संसदीय कोष र प्रदेश सरकारको सर्शत अनुदान अन्तरगत नर्सिङ कलेजको निर्माणका लागि २०७६ साल बैशाख १० गते कन्टेक/चक्रेश्वरी/जेइ जेभीसँग राजविराज नगरपालिकाले सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले २०७८ साल चैत ३० गते काम समपन्न गरेपनि पूर्ण भुक्तानी नपाउँदा हस्तान्तरण हुनसकेको थिएन् । २०७९ असोज १२ गते निर्माण कम्पनीलाई भुक्तानी दिइएपछि उक्त कलेज भवन नगरपालिकाको जिम्मा लगाइएको थियो । कुल ६ करोड ९२ लाख रुपैयाँ खर्च भई निर्माण भएको नर्सिङ कलेज भवनमा तात्कालिन सासंद यादवको संसदीय बिकास कोषवाट ५ करोड ८१ लाख र मधेश प्रदेश सरकारको सर्सत अनुदान अन्तरगत १ करोड ११ लाख रुपैयाँ दिइएको छ ।

नर्सिङ कलेज भवन निर्माण भएपछि २०८० जेठ १७ गते जसपा अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका थिए । उद्घाटन पछि चाँडै नर्सिङ कलेज संचालनमा आउने र स्नातकसम्मको पढाइ हुने प्रतिबद्धता ब्यक्त भएको थियो । तर, उद्घाटन भएको तीन महिना बित्दा नर्सिङ कलेजको पढाइका लागि स्वीकृति लिने तर्फ कतैबाट पहल भएको छैन । उद्घाटनपछि उक्त भवन नर्सिङ कलेज संचालनका लागि गजेन्द्रनारायण अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहका अनुसार नर्सिङ पढाइको स्वीकृति लिने बारे औपचारिक रुपमा कुनै कार्य अघि बढाइएको छैन् । ‘कहाँबाटस्वीकृती लिने ,स्वीकृती लिनका लागि के के गर्नुपर्ने लगायतका विषयमा जानकारी लिन एकजना कर्मचारी काठमाडौं पठाएको छु,’ मेसु डा. साहले भने, ‘बुझ्ने काम भइरहेको छ । स्वीकृतिका लागि औपचारिक रुपमै कहीँकतै काम भएको छैन ।’

पछिल्लो समय गजेन्द्रनारायण अस्पतालले नर्सिङ कलेजको उक्त भवनलाई अस्पतालको स्टोर शाखा बनाएको छ । ‘स्टोर राख्नका लागि स्थान अभाव थियो । पढाइ सुरु हुन नसकेर नर्सिङ कलेजको भवन खाली थियो,’ मेसु डा. साहले भने, ‘अहिले स्टोर शाखा त्यसमै संचालन गरेका छौं ।’

‘नर्सिङ कलेज पढाइका लागि निर्माण भएको हो ,न कि स्टोर वनाउन’ राजविराज नगरपालिकाका पुर्व नगरप्रमुख शम्भुप्रसाद यादवले भने, ‘मेरो कार्यकालमा निर्माण समपन्न भयो, ३ महिना अघि उद्घाटन भएर हस्तान्तरण भयो । जिम्मेवारीमा रहेकाहरुको दायित्व थियो स्वीकृति प्राप्त गरी नर्सिङको पढाइ संचालन गर्ने । तर, त्यसो गर्न नसकेर अहिले ७ करोड रुपैयाँ लगाएर बनाएको कलेज भवन स्टोर बन्नु दुःखद हो ।’

प्रतिक्रिया