त्रिवि टपरहरू भन्छन्– देशमै केही गर्छौँ
शिक्षाखबर डेस्क
३ पुष २०८०, मंगलवार
no immg

काठमाडाैं / नेपालमा गुणस्तरीय शिक्षा हासिल गरेर उत्कृष्ट नतिजा हासिल गरेको शैक्षिक जनशक्ति पलायन हुने क्रम बढिरहेको छ । अझ विषय तथा संकाय टपरहरू विदेश नै ताक्छन् । त्रिभुवन विश्वविद्यालयका विभिन्न संकाय तथा विभागका हरेक वर्ष २७ जना विद्यार्थी गोल्ड मेडलिस्ट बन्छन् भने हजारौँ विद्यार्थी दीक्षित हुन्छन् । सोमबार त्रिविबाट दीक्षित भएका र उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीहरूमध्ये केहीले भने स्वदेशमै बस्ने र केही गर्ने योजना सुनाए ।

उत्कृष्ट नतिजा आयो भनेर बिदेसिने सोच छैन : कपिल पोखरेल स्नातकोत्तर, अर्थशास्त्र
मैले मिहिनेत गरेर पढेँ । कैयौँ रिसर्च र अध्ययन गरेको छु । किताबको भन्दा पनि बाहिरी अध्ययनले मलाई सिर्जनशील बनायो । अब मैले देशमै आर्थिक क्षेत्र र व्यवसाय क्षेत्रमा केही गर्ने सोच बनाएको छु । यसबाहेक अध्ययनलाई पनि निरन्तरता दिन्छु । तर, उत्कृष्ट नतिजा आयो भनेर बिदेसिने सोच छैन, अध्ययन अनुसन्धानका लागि विदेश जानु अर्को पाटो हो ।

भविष्यमा नेपालमै केही गर्नुपर्छ भन्ने सोच बनाएकी छु : विजिसा बुढाथोकी स्नातकोत्तर, पत्रकारिता
मैले अलि फरक ढंगबाट पढेँ । पढ्दापढ्दै सञ्चारमाध्यममा पनि काम सुरु गरेँ । पत्रकारिताको पहिलो सेमेस्टर पढ्दा म क्यासिनोमा काम गर्थेँ । त्यतिवेला पढ्ने समय पनि कम हुन्थ्यो । पछि त्यो काम छाडेर मिडियामै काम गर्न थालेँ । विषय पनि एउटै र काम पनि एउटै हुँदा पढ्न सहज भयो । अहिले रिसर्च तथा अध्ययनमूलक कार्यमा आबद्ध भएर काम गरिरहेकी छु । भविष्यमा नेपालकै लागि केही गर्नुपर्छ भन्ने योजना बनाएकी छु ।

पढाइ र जागिरलाई सँगसँगै अघि बढाउँछु : दीपा पनेरू, स्नातकोत्तर, वनस्पतिशास्त्र (३.७७ जिपिए)
मैले पढेको विषय प्राविधिक र प्रयोगात्मक हो । पढाइका साथै बाहिरी ज्ञान पनि हासिल गरेँ । सोहीकारण, राम्रो अंक ल्याएकी हुँ । अहिले म रिसर्चरको रूपमा पनि काम गर्छु । अब पढाइ तथा जागिरलाई सँगसँगै अघि बढाउने योजना बनाएकी छु ।

नेपालमै आफ्नो ज्ञान, सीप र क्षमता प्रयोग गर्न चाहन्छु : ममता सापकोटा एमबिएस (३.८७ जिपिए)
मैले त्यस्तो गहिरिएर अध्ययन त गरिनँ, तर मन लागेको कुरा राम्ररी पढ्थेँ । बुझ्ने गरी पढ्यो भने थोरै पढे पनि राम्रो हुनेरहेछ । हाल म राष्ट्रिय वाणिज्य बैंकमा पनि कार्यरत छु । नेपालमै आफ्नो ज्ञान सीप र क्षमता प्रयोग गर्न चाहन्छु ।

नेपालमै समाजसेवा र राजनीतिक क्षेत्रमा जम्ने हो : रिकेश महर्जन, स्नातकोत्तर, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति (३.७९ जिपिए)
मेरो नियमित पढ्ने बानी छ । हरेकदिन पढ्ने, असाइन्मेन्ट समयमै गर्ने, समाजसेवा र राजनीतिमा सक्रिय हुने बानीले पनि म उत्कृष्ट भएको हुँ । म अहिले राजनीति र समाज सेवामा सक्रिय छु । अब नेपालमै समाजसेवा र राजनीतिक क्षेत्रमा जम्ने हो ।

पढ्न विदेश गए पनि नेपालमै फर्किएर केही गर्ने हो : पलिस्था रञ्जितकार, स्नातकोत्तर अंग्रेजी (३.९१ जिपिए)
मलाई साहित्यमा रुचि थियो । यो विषयमा धेरै मिहिनेतभन्दा पनि क्रियटिभ भएर पढेँ । विभिन्न लेख रचना लेख्दै पनि आइरहेकी छु । अब पनि साहित्य नै पढ्न मन छ । पढ्न तथा रिसर्चका लागि विदेश गए पनि नेपालमै फर्किएर यहीँ केही गर्ने हो ।

आफूले पढेको क्षेत्रमा केही गर्न मन छ : विनोद खड्का स्नातकोत्तर साइन्स, बायोटेक्नोलोजी (३.८९ जिपिए)
मलाई जे विषयमा रुचि थियो त्यही विषय पढेँ । अब मैले आफूले पढेको क्षेत्रमा केही गर्न मन छ, त्यो पनि स्वदेशमै । मैले रमाइलो मान्दै अध्ययन गरे पनि राम्रो नतिजा आयो भन्ने लाग्छ । परीक्षामा पढेर मात्रै हुँदो रहेनछ ।

अरू देश र आफ्नो देशको अभ्यास अध्ययन गरेँ : किशोरकुमार गौतम, एमफिल म्यानेजमेन्ट (४ जिपिए)
मेरो लेखेर पढ्ने बानी हो । रिसर्च पनि गर्छु । कोभिडको वेलामा राम्ररी पढ्ने मौका पाएँ । मेरो विषयसँग सम्बन्धित अन्य देशमा कस्तो–कस्तो अभ्यास छ भनेर पनि अध्ययन गरेँ । अहिले म ग्लोबल कलेजमा कार्यरत छु ।

देशमै राजनीतिमार्फत केही गर्छु : अभिनव आचार्य, स्नातकोत्तर, राजनीतिशास्त्र (३.८३ जिपिए)
मेरो सोच यही देशमा राजनीतिमै आउने हो । अहिले एमफिल पढ्न सुरु गरिसकेको छु । त्रिविको केन्द्रीय विभागमै अध्ययन गरिरहेको छु । नेपाल तथा अन्य देशको राजनीतिक अवस्थाबारे अध्ययन गरिरहेको छु । नेपालको राजनीतिमा लागेर देशकै लागि केही गर्ने सपना बोकेको छु ।

प्रतिक्रिया