शुल्क नतिर्दा सयभन्दा बढी विद्यार्थी परीक्षा दिनबाट बञ्चित
शिक्षाखबर डेस्क
२३ पुष २०८०, सोमबार
no immg

विराटनगर / परीक्षा शुल्क नतिरको भन्दै विराटनगर महानगरपालिका-९ मा रहेको सरस्वती माध्यामिक विद्यालयले आइतबार सय भन्दाबढी विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको छ । नेपाली र अंग्रेजी माध्यमबाट पढाई हुने यो विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई परीक्षा शुल्क वापत डेढसय देखि दुईसय रुपैयाँसम्म उठाउने गरेको छ ।

यसपटक विद्यालयको आन्तरिक परीक्षामा शुल्क नबुझाएको भन्दा आइतबार सयभन्दा बढी विद्यार्थीहरुलाई परीक्षा हलबाट निकालेर घर पठाएको हो ।
विद्यालयले तीन दिन देखि महानगरस्तरीय परीक्षा लिइरहेको छ । विद्यालयका एक शिक्षकका अनुसार कक्षा ६ देखि कक्षा १० सम्मका सय भन्दाबढी वद्यार्थीलाई परीक्षा शुल्क नतिरेको भन्दै आइतबार परीक्षा दिनबाट बञ्चित गरिएको छ ।

‘सामुदायिक विद्यालयमा मासिक र परीक्षा शुल्क केही पनि लिन नपाउने प्रावधान छ,’ उनले भने, ‘ती शिक्षकले भने परीक्षा शुल्कका नाममा विद्यार्थीलाई परीक्षा हलमै बस्न नदिनु विद्यालय प्रशासनको गैरजिम्मेवारी कार्य हो ।’

विद्यालयकी प्राचार्य अनिता नेपालले परीक्षा हलबाट निकालिएका विद्यार्थीको ७५ प्रतिशत हाजिरी नपुगेको पाइएपछि अविभावक लिएर आउनु भन्दै घर पठाएको बताइन् । उनीहरुको आइतबारको परीक्षा अन्तिम दिन लिने तयारी गरिएको उनको दाबी थियो । ती विद्यार्थीले बिहीवार अंग्रेजी र शुक्रबार नेपाली विषयको परीक्षा भने दिएका थिए ।

आइतबार गणितको परीक्षा थियो । विद्यालयले विद्यार्थीबाट कुनैपनि शुल्क नलिएको दाबी प्राचार्य नेपालको छ । तर उनले विद्यालयले अविभावक सहयोगका नाममा सामान्य शूल्क लिने गरेको स्वीकारिन् ।

उनले भनिन्, ‘आज परीक्षाबाट बञ्चित गरिएका विद्यार्थीले भोलि अविभावक लिएर आउँछन् अनि अन्तिम दिन आइतबार लिने भनिएको उनीहरुको गणित विषयको परीक्षा लिइने छ।’

प्रतिक्रिया